आइतबारदेखि बैङ्कका सबै शाखा खुल्ने

Newslaya Home

आइतबारदेखि बैङ्कका सबै शाखा खुल्ने

शुक्रबार २६, बैशाख २०७७

काठमाडौं । आइतबारदेखि बैङ्कका सबै शाखा कार्यालयहरू खुल्ने भएको छ । सरकारले लकडाउनकै बीच उद्योगहरू खुला गर्ने भएपछि बैङ्कहरूले पनि सबै शाखा कार्यालय खोलेर सेवा दिने भएका हुन् ।

यसअघि बैङ्कहरूले आंशिक रुपमा मात्रै सेवा प्रदान गरिरहेमा अब भने सबै ठाउँका शाखाहरू खोल्ने नेपाल बैङ्कर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए ।

उनका अनुसार बैङ्कका सम्पूर्ण शाखा खोल्न सबै बैङ्कलाई अनुरोध गरिसकिएको छ । केही कोरोना संक्रमित क्षेत्रका शाखाहरूबाहेक अन्य खुला हुने अध्यक्ष दाहालले बताए ।

मन्त्रिपरिषद् बैठकले बैङ्क तथा वित्तीय संस्था, बिमा, धितोपत्र, सहकारीमार्फत् अतिआवश्यक सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाइ कर्मचारीद्वारा सेवा सञ्चालन गर्ने भनेर निर्णय गरेको थियो ।

सरकारी निर्णयअनुसार नै एक तिहाइ कर्मचारी राखेर सेवा सुचारु गरिने उनले बताए । शाखा कार्यालयहरू खुला भए पनि सुरक्षाका आवश्यक सावधानीहरू भने अपनाइने बताए । उनका अनुसार एक पटकमा शाखा कार्यालयभित्र पाँच जनाभन्दा बढी सेवाग्राहीले प्रवेश पाउने छैनन् ।

माक्स र स्यानिजाइजरसमेत कर्मचारी र सबै सेवाग्राहीका लागि अनिवार्य गरिने अध्यक्ष दाहालले बताए ।