संक्रमणबाट निको भएका पुरुषको वीर्यमा भेटियो कोरोना भाइरस

Newslaya Home

संक्रमणबाट निको भएका पुरुषको वीर्यमा भेटियो कोरोना भाइरस

शुक्रबार २६, बैशाख २०७७

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका पुरुषको वीर्यमा पनि संक्रमण भेटिएको छ ।

चीनको शांगकियु नगर अस्पतालले ३८ जना संक्रमितको वीर्य परीक्षणबाट निको भइसकेका संक्रमित पुरुषको वीर्यमा पनि कोरोना भाइरस देखा परेको तथ्य सार्वजनिक गरेको हो ।

परिक्षण गरिएको मध्ये १६ प्रतिशतको वीर्यमा कोरोना भाइरस फेला परेपछि कोरोना भाइरसको संक्रमण यौनसम्पर्कबाट पनि फैलिन सक्ने सम्भावना देखिएको छ ।

जामा नेटवर्क ओपनमा प्रकाशित अध्ययनले वीर्य परीक्षण गरिएकामध्ये एकचौथाइ संक्रमित संक्रमणको अवस्थामा रहेका र नौ प्रतिशत निको भइरहेको अवस्थामा रहेको उल्लेख गरेको छ ।

शरीरको प्रतिरक्षा प्रणालीले अन्य भाइरसविरुद्ध लड्न नपुग्ने क्षेत्रको परीक्षण गरिएको बताइएको छ । भाइरसले वीर्यमा आफ्नो संख्या वृद्धि गर्न नसके पनि त्यहाँ पाइएको जनाइएको हो ।

इबोला र जाइकाजस्ता भाइरस पनि संक्रमित निको भएको महिनौँपछि मानिसको वीर्यमा पनि पाइएकाले वीर्यमा कोरोना संक्रमण हुनु आश्चर्यजनक तथ्य नभएको बताइएको छ ।
अध्ययनले वीर्यमा पाइएको भाइरसले फेरि संक्रमण फैलाउन सक्छ वा सक्दैन भनेर पनि पुष्टि गरेको छैन । यदि कोरोना भाइरस यौन संक्रमणबाट पनि सर्न सक्छ भन्ने देखायो भने त्यो जोखिमको अवस्था हुने अध्ययनकर्ताहरूले उल्लेख गरेका छन् ।