सोमबारको घटनाबारे इटहरीका मेयरको प्रष्टिकरण, ‘६ जना बसेर चिसो खाएर फर्किएका हौं, हल्लाले सचेत गराएको छ’

Newslaya Home

सोमबारको घटनाबारे इटहरीका मेयरको प्रष्टिकरण, ‘६ जना बसेर चिसो खाएर फर्किएका हौं, हल्लाले सचेत गराएको छ’

मङ्गलबार २३, बैशाख २०७७


इटहरी । सोमबार राती इटहरीमा भएको घटनाबारे मेयर द्वारिकलाल चौधरीले मुख खोलेका छन् ।

इटहरी १७ मा रहेको एक घरमा महिलासँग बसेको अवस्थामा राती उनलाई स्थानीयहरुले भेटेको र होहल्ला भएपछि भागेको हल्ला चलेको थियो ।

सामाजिक सञ्जालमा मेयरलाई राती रंगेहात भेटिएको भन्ने आशयका स्टाटसहरुको बाढी नै आएको थियो भने धेरैले के भएको हो भन्ने चासोसमेत राखेका थिए । राती नै त्यो स्थानमा प्रहरी पुगेको बताइएको छ । मंगलबार बिहान पनि सुनसरी प्रहरीका डिएसपी विनोद शर्माको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेर जानकारी लिएको थियो ।

सामाजिक सञ्जालमा व्यापक टिप्पणी हुन थालेपछि उनले नभएको हल्ला चलाइएको प्रष्टिकरण दिएका छन् । इटहरीको एक अनलाइनलाई अन्तर्वार्ता दिँदै उनले जग्गाको कारोबारको सिलसिलामा आफूहरु त्यहाँ पुगेको र ५–६ जनाको समुहमा बसेर चिसो खाएर फर्किएको बताए ।

उनले यसो भनेका छन्,

‘खोलामा पुल हाल्ने सिलसिलामा र जग्गा बेच्ने सिलसिलामा छलफल गर्न हामी समुहमा त्यता गएका थियौं । ती बहिनीको घरमा ५–६ बजेको समयमा पुगेर शिवप्रसाद भाई, दुःखीलाल चौधरी र एक जना मुसहरर्नी दिदि भएर चिसो खायौं । जुन घरमा बस्यौं, त्यो घरको बहिनीसँग चिनजान भएको अस्ती मात्र हो । केही बेर बसेपछि ती बहिनीले ढिलो नबसिदिनु, घरमा पुरुष हुनुहुन्न, समाजले अन्यथा लिन्छ भनेर आग्रह गरेपछि हामी ६ः३० बजेतिर निस्क्यौं । ती महिलालाई त्यहाँको समाजले किन त्यस्तो सोचेको थाहा छैन । घर फर्केर खाना खाएर निदाइसक्या थेँ । १७ नं.वडा सदस्य जीवन राईको फोन आयो । कहाँ हुनुहुन्छ भनेर सोध्यो । घरमै छु भनेँ । बाहिर हुनुहुन्छ भने पु¥याइदिन्छु भने । मैले हैन, म घरमै छु भनेँ ।

त्योभन्दा अघि पकलीको इन्सपेक्टरले पनि फोन गर्नुभाको रहेछ । पछि जीवन राई घरमै आइपुग्नुभो १० मिनेटमा । त्यसपछि मैले फेसबुक हेर्न थालेँ । निकै ठूलो होहल्ला भइसकेको रहेछ । हल्ला फैलिएजस्तो केही भएको छैन । यो देश हल्लै हल्लाको देश हो । जसले नचाहिने हल्ला फैलाउनुभयो, वहाँहरुलाई धन्यवाद छ । घटनाले मलाई सजग गराएको छ । पार्टीभित्रकै केही मानिसहरु मेरो विरुद्ध लागेका छन् । म कुनै गुटमा छैन त्यसैले आफ्नो गुटमा आएन भन्ने पार्टी भित्रकै असन्तुष्ट नेता कार्यकर्ताहरुले मलाई खेदो गरिरहेका छन् । कसैको घरमा मेयर गयो भन्दैमा आकाशै खस्यो भनेर कोकोहोलो मच्चाउनुको अर्थ छैन ।’

घटनाबारे छानविन गर्न काँग्रेसको यस्तो माग
यसैबिच नेपाली काँग्रेस इटहरी नगर समितिले घटनाको बारेमा छानविन गर्न माग गरेको छ । सभापती हेमकर्ण पौडेलको हस्ताक्षरमा जारी विज्ञप्तीमा घटनाको छानविन गर्न भनिएको छ । तर कुन घटना भने खुलाइएको छैन । सामाजिक सञ्जालमा व्यक्त स्टाटसले संकेत गरेको घटना छानविन गरी कारवाही गर्न भन्दै विज्ञप्ती जारी गरेको हो ।

‘बालग्राम आसपास हिजो मेयर द्वारिकलाल चौधरीलाई जोडेर घटेको भनिएको घटनाप्रति ध्यानाकर्षण भएको छ । घटनाको बारेमा सामाजिक सञ्जालमा उपमेयरलगायत सरोकारवालाहरुले सामाजिक संजालमार्फत् संकेत गरेको घटनाको वास्तविकता के हो, को को संलग्न छन् छानविन गरी कारवाही गर्न माग गरिएको छ,’ विज्ञप्तीको सार यस्तो छ ।