कोविड १९ व्याधि र सहकारी व्यवसाय चुनौती र संभावना

Newslaya Home

कोविड १९ व्याधि र सहकारी व्यवसाय चुनौती र संभावना

- रुद्र उप्रेती
सोमबार २२, बैशाख २०७७

विश्वमा एक सय एक महारथि भन्न रुचाउने मुलुकहरू कोविड–१९ को व्याधिपछि निरीह र एक्लै भएको महसुस गर्न थालेका छन् । विश्व जनसंख्याको अनुपात र व्याधिको प्रसारण हेर्ने हो भने यो संख्या त सामान्य जस्तो लाग्छ । तर लकडाउनका वावजुद संक्रमित संख्यामा भएको बृद्धिदर हेर्दा भने यो अनुपात अति नै भयावह देखिन्छ ।

यति हुँदाहुँदै पनि यो सबै परीणाम बन्दाबन्दि (लकडाउन)ले गर्दा मात्र भएको हो भन्ने विश्व स्वास्थ्य संगठनले निष्कर्ष निकालेको छ । अन्यथा अवस्थामा अहिलेसम्म करोडौं मानिसहरु मृत्युको चपेटामा परिसकेका हुने थिए ।

उदाहरणका लागि अमेरिकी सरकारले गरेको अटेरीपनाले भएको ढिलाईका कारण उत्पन्न हालको अवस्थालाई लिन सकिन्छ । द्रुतगतिमा आर्थीक विकासका सुचांकहरु बृद्धि भएका विकसित र विकाससिल राष्ट्रहरु आज आई.सि.यु र भ्यान्टिलेटरमा छट्पटीरहेको अवस्था छ ।

हाम्रो जस्तो अल्पविकसित मुलुक त यसबाट अछुतो रहने कुरै आएन । २०७६ च‌ैत्र १० गतेको नेपाल सरकारको निर्णयले भोलिपल्ट ११ गते देखि बन्दाबन्दि कायम छ । लकडाउन थपिएको थपियै छ । कोविड १९ का संक्रमितहरुको तिब्रतर वृद्धि संगै यो अबधि बढ्दै जाने देखिन्छ ।

खानेकुराको अभाव, रोग र रोगीको पहिचानमा समस्या, उपचारको समस्या, स्वदेशी र वैदेशिक रोजगारीका अवसरमा आएको ह्रास आदिले मुलुक आक्रान्त बन्दैछ । यस बेला समुदायको आफ्नै लगानि र व्यवस्थापनमा संचालनमा रहेका जनताले आफ्नै बैंक र संस्था भनेर आत्मसात गरेका वित्तीय सहकारीहरु पनि प्रभावित नहुने कुरै छैन । वित्तीय सहकारीका अहिले उत्पन्न भएका र आगामी दिनमा उत्पन्न हुन सक्ने समस्याको खोजि गरि तिनको बेलैमा निराकरण गर्ने उपायबारे छलफल र खोजि गर्नु आजको आवश्यकता मानेको छु ।

आजको यस आलेखमा २०५२ साल देखि सहकारी क्षेत्रमा काम गरेको अनुभव, नेत्रित्वदायि अंगहरुमा रहदा प्राप्त सिकाइ उपलब्धिहरु, तालिम प्रशिक्षण लिदा र दिंदाका सिकाइहरु, भ्रमण अवलोकनका अध्ययनहरु, स्थानीय र अन्यत्रका प्रारम्भिक साकोसहरुका योजना निर्माण र रणनीतिक योजना निर्माण, निति, कार्यविधि र निर्देशिका निर्माणका क्रममा संकलित सुचनाहरुको अध्ययन, विभिन्न सहकारी संस्थाहरुका प्रतिवेदनमा उल्लेख भएका सुचना र जानकारीहरुको विश्लेषण, सहकारी मुल्य–मान्यता र सिद्धान्तहरुको अध्ययन र विश्लेषण, ऐन कानुन र नियमावलीको अध्ययन तथा विद्वान महानुभावहरुका आलेखहरु र विभिन्न सहकारी सम्बन्धि प्रकाशन, पुस्तक पत्र पत्रिकाहरुको अध्ययनका आधारमा यश संकटापन्न घडीमा साकोस अभियानलाई अवतरण गर्न सहयोग पुगोस भन्ने उद्धेश्यले आज देखिन थालेका र देखिन सक्ने समस्याहरु र त्यसबाट पार पाउन र समस्या न्यून गर्न अबलम्बन गर्न सकिने केही कुराहरु राख्ने कोशिस गरेको छु । आशा छ यसका पाठकहरुलाई केही सहयोग पुग्ने नै छ ।

यश आलेखलाई मैले ३ खण्डमा विभाजन गर्ने प्रयास गरेको छु । पहिलो खण्डमा समुदायका समस्या र सोबाट सदस्यलाई परेको प्रभाव र असर पहिचान, दोश्रो खण्डमा साकोसमा देखिने समस्या खोजि र तेस्रो खण्डमा समस्याको निराकरण गरि समाधानका उपायको खोजि सम्बन्धि विषय सके सम्म वुँदागत रुपमा राख्ने कोशिस गरेको छु । विद्वान मित्रहरूबाट आलोचना, सुझाव र समालोचनाको अपेक्षा गरेको छु ।

१. समुदायको समस्या र सदस्यलाई परेको प्रभावः
व्याधि र लकडाउनका कारण रोजगारिका उपलब्ध सिमीत अवसरको प्रयोग नहुनु र हुन नसक्नु । कुखुरा पालन गर्नेले चारो पाएनन् । चौपाया (पशु) पालन गर्ने सदस्य पनि पशु आहारको अभाव खेपिरहेका छन्।

रोजगारीका स्वदेशमा भएका सिमीत अवसरमा पनि संकुचन आउने देखिन थालिसकेको छ ।

वैदेशिक रोजगारीका अवसरमा ह्रास आएको र आउने कारणले स्वदेशमा भएको र हुनसक्ने सिमीत व्यवसायीक अवसरमा अत्यधिक दवाव बढ्ने अवस्था भएको अनुभुत भइरहेको छ ।

उत्पादन क्षमतामा ह्रास आएको र कुल गार्हस्थ्य उत्पादनमा यसको असर लामो समयसम्म कायमै रहन सक्ने देखिएको छ ।

व्यापार र व्यवसायका पुराना मोडेल चौपट हुनेअवस्था देखिएको (कति त ज्यादै पुराना पनि छन् जस्तैः खेती, पशुपालन आदि) ।

नयाँ प्रविधि र मोडलमा जान प्राविधिक, वित्तीय र मानसिक कारणले चाँडो तयार हुने देखिएको छैन ।

रोजगारी आएको ह्रास र व्यापारमा आएको मन्दिका कारण आम्दानि न्युन हुँदै जाने र यसमा सुधार हुन लामो समय लाग्न सक्ने अड्कल सहजै गर्न सकिन्छ ।

प्रती व्यक्ति आयमा हुन थालेको बढोत्तरि पुनः ठिगुरिने र अझ तल झर्ने र झर्नसक्ने अर्थशास्त्रीहरुको निश्कर्ष ।

मुद्राको मुल्य/क्रयशक्ति कमजोर बन्दै जाने र महँगी अनपेक्षित रूपमै बढ्दैछ ।

मुद्रा स्फितीदर ह्वात्तै बढने/बढ्न सक्ने भएपछि सरकारले करको दर र कर प्रणालीमा परीमार्जन गर्न सक्छ भने त्यसको असर समुदाय र सदस्यमा पर्नेछ ।

वैदेशिक रोजगारी प्रभावित हुनासाथ विप्रेषण दर घट्ने/प्रभावित हुने निश्चित छ ।

अन्यत्र लगानिका अवसर घट्दै जाँदा सिमीत शेयर बजारमा चाप बढ्दै जाने र शेयरमूल्यमा अनावश्यक वृद्धि भै प्रभावित हुने ।

फलस्वरूप राष्ट्रिय आयमा नै नकारात्मक प्रभाव पर्ने भनी ठुला आयोजनामा सरकारी लगानि घट्ने देखिन्छ । जसका कारण रोजगारीका अवसरहरु घट्ने निश्चित छ ।

कोविड १९ को प्रसार तथा आर्थिक मन्दिको भय र आतंकले मनोवैज्ञानिक असर पर्ने कारणले पनि ठुला व्यवसायी गरुँ कि मरुँ भनिरहेको अवस्था छ । त्यसको असर रोजगारि श्रजनामा पर्नेछ ।

यी सबै कुराको प्रतक्ष्य र परोक्ष असर सदस्य र सदस्य मार्फत संस्थामा पर्ने देखिन्छ ।

सदस्यको आम्दानि सिमित भए पनि खाने मुख बढ्दा आम्दानि अपेक्षित रुपमा घट्ने र खर्च भने बढ्दै जाने स्वभाविक छ ।

कमजोर अयाका कारण आर्थिक गतीविधी घट्ने र आर्थिक गतिविधि नबढ्दा मुनाफा घट्ने हुन्छ । यसको असर पनि सदस्यहरुमा पर्नेछ ।

२. साकोसमा देखिन सक्ने समस्याहरुः

साकोसमा भाखा नाघेको ऋणको मात्रा बढदै जाँदा PEARLS प्रणाली नराम्ररी प्रभावित हुनेछ ।

सदस्यको वित्तीय अवस्थामा परेको नकारात्मक प्रभावका कारण आवधिक बचत र ऐच्छिक बचत लगायत सबै प्रकारका बचतहरुको संकलनमा कमी आउने देखिन्छ ।

साकोसको लगानि र ऋण लगानीको क्षमता निकै प्रभावित हुन सक्नेछ ।

सदस्यले कमाई गर्न नपाउँदा/नसक्दा बचत फिर्ताको माग बढ्न गई भुक्तानी क्षमताको ह्रास हुने र तरलता अभाव भई बचत फिर्ता गर्न नसकेर कतिपय साकोस विघटनको संघारमा पुग्नेछन् र विश्वासको संकट बढ्नेछ ।

आम्दानिमा अनपेक्षित गिरावट र महँगि आदिका कारणले साकोसको खर्च बढ्दैछ ।

पुँजीगत खर्च र संचालन खर्च बढ्दा साकोसमा वित्तीय भार बढ्दैछ । ऋणात्मक हुदैछ ।

राम्रो मुनाफामा भएका साकोसमा मुनाफा दरमा कमि आउने, कतिपय साकोस नोक्सान हिसाबमा जाने र संचित नोक्सान भएका साकोसमा नोक्सान बढ्न सक्ने ।

मुनाफा घट्दा लाभांश वितरणमा असर पर्नेछ र सो को असर प्रक्षेपण गरिएको शेयर बृद्धिमा पर्नेछ । लाभांश नहुँदा वा कम हुँदा शेयरमा लगानि गर्नेहरु कम हुनेछन् ।

फलस्वरूप भुतो न भविष्यती (पैले नभोगेका र भविष्यमा पनि भोग्नु पर्ला/नपर्ला) खालका कठिनाइहरु आउन सक्छन् । यो चुनौति संग पौंठेजोरि खेलेर सामना गर्दै अघि बढ्दा समाधान असंभव छैन ।

३. समाधानका संभावित उपायहरूः
केही समय हामी उल्टो हिंड्नु पर्नेछ अर्थात केही पछाडि सरेर दौडको मोर्चा लिनुपर्नेछ ।

PEARLS पद्धति प्रति आँखा चिम्लेर नै किन नहोस थोरै समयका लागि लगानीमा रहिआएको ऋणको अवधि थपेर वा भाखा संशोधन गरेर वा भुक्तानी तालिका परीमार्जन गरि सदस्य मैत्री बनाउने काम गरौं ।

लिएको ऋणको भुक्तानी तालिका परीमार्जनका लागि संघ÷बैंकसंग समन्वय गरौं । व्याजमा पनि छुट मागौं न ।

सदस्यलाई व्यवसाय बन्द रहेको अवधिको व्याजमा र भाखामा तिर्नुपर्ने किस्ता/व्याज रकमको विषयमा कार्यविधि, निति र निर्देशिकामा नै आबश्यक संशोधन गरि साकोस धराशायी नहुने गरि सकेको छुट सुविधा उपलब्ध गराउँ । साकोस सदस्यकै भएकोले जानकारी गराएर, सुझाव लिएर काम गरौं।

लिने र तिर्नुपर्ने व्याजदरमा फरकता दर (spread rate) सके सम्म कम गर्नु उपयुक्त हुनेछ । लोकपृयताका नाममा साकोसको खर्च धान्न सक्ने भन्दा कम त नगरौं ।

दिर्घकालिन दायित्व (आवधिक बचत, नियमित बचत, दिर्घकालिन अवधिको ऋण लिने) बढाउने तर्फ ध्यान दिने र छोटो अवधिका दायित्व घटाउने तर्फ ध्यान दिने ।

ऋण लगानी भन्दा सानो सानो बचत फिर्ता तर्फ अलि बढि ध्यान दिनुपर्छ । यसबाट विश्वासको वातावरण सृजना हुनेछ ।

उत्पादन विविधता तर्फ ध्यान दिंदै बचतका नयाँ प्रकारहरु तयारी गर्ने र ऋणको पनि सकेसम्म सानो आकारको, छोटो भुक्तानी अवधि भएको र उत्पादनमूलक ऋणका शिर्षक तयार गर्ने ।

नियमित बचत संकलनमा बढि जोड दिने । बचतकर्तालाई स्वघोषणा गराई बचत राख्ने व्यवस्था गर्न सके राम्रो ।

लामो अवधि भएको र ठुलो आकारको ऋणलाई प्राथमिकता सुचिमा नराखि पर्याप्त पुँजि भएका बखत गर्ने गरि अहिले उत्पादनमूलक र रोजगारमुलक व्यवसायमा सानो सानो ऋण मात्र लगानी गर्न प्राथमिकता दिने ।

प्राथमिक पुँजिकोष र ऋण लगानि अनुपात १०% राख्ने गरीएकोमा केही अवधि वा अवस्था तोकि ५%सम्म घटाउने र सुधार हुँदै जाँदा पुनः बढाउन सकिने गरि नितिगत व्यवस्था गर्ने ।

तरलता सामान्यतया १५% राखिएकोमा विशिष्ट अवस्था भरि २५% कायम गर्ने निति लिने ।

सदस्य बनेको मितीले ३ महिना पुगेकालाई ऋण दिने नीति परिमार्जन गरि लघुवित्त तर्फ समुहगत ऋण लिने सदस्य बाहेक सदस्य बनेको मितीले ६ महिना सम्म नियमित बचत गर्ने र साकोसले तोकेका शर्त पुरा गर्ने सदस्यलाई मात्र ऋण प्रदान गर्ने नीति बनाउनु उचित हुनेछ ।

साकोसको वित्तीय क्षमता ठुलो आकारको हुनुलाई सदस्य सेवा, संस्थागत दिगोपना र विश्वासका हिसाबले उपयुुक्त देखिन्छ । तसर्थ जोडिएको कार्यक्षेत्र भएका साकोस वा आबश्यक स्वीकृति प्राप्त गरि अन्य विषयका सहकारी संग एकीकरण तर्फ ध्यानाकर्षण गर्नु उचित हुनेछ ।

एकिकरण नगरीकन सेवा केन्द्र नखोल्ने नीति लिउँ ।

कार्यालयलाई भिडबाट बचाउन प्रविधिमा आधारित सेवा तर्फ ध्यान पुर्‍याउनु उपयुक्त हुनेछ । यसले पढेलेखेका र युवा वर्गलाई अभियानमा आकर्षण गर्न पनि मद्धत पुग्न निश्चितै छ ।

बैंकहरुमा वा संघमा साकोसले तरलता बढी भएका बखत खोलिएका मुद्दति खाताको अवधि पुगे पछि भुक्तानी संतुलनमा नकारात्मक असर पर्ने भएमा त्यस प्रकारको खाता खोल्ने र रकम जम्मा गर्ने नगरौं । सो रकम सदस्यको माँग अनुसार साकोसमा न‌ै प्रयोग गरौं ।

नयाँ जनशक्तिको व्यवस्था तत्काल नगरौं। नथपि कामै नचल्ने भए मात्रै नितिगत व्यवस्था गरि थपौं। भएको जनशक्तिको व्यवसायीकतामा ध्यान पुर्याई प्रविधि मैत्री बनाउने तर्फ पुरापुर ध्यान दिउँ।

बन्दाबन्दि खुलेको लगत्तै सानो ईकाइमा सदस्यकै घर आँगनमा सदस्य शिक्षा कार्यक्रम व्यापक रुपमा संचालन गरौं । अहिले पनि सकेको सम्पर्कमा रहने प्रयास गरौं।

सदस्यलाई व्यवसायी बनाउन संभावित व्यवसाय खोजि गरौं । व्यवसायिक योजना निर्माणका लागि प्राविधिक सहयोग गरौं । सदस्य व्यवसायी बने मात्रै ऋणको सदुपयोग, रोजगारि श्रीजना, सहज ऋण असुलि, बचत र शेयर वृद्धि गर्न सहज हुनेछ ।

यो असहज परीस्थितीमा साकोसको भवन निर्माणकार्य नथालौं। सहज भए पछि गरौंला ।

सुविधाको नाममा कर्मचारीलाई दिईने पारिश्रमिक अस्वाभाविक रुपमा वृद्धि नगरौं । साकोस नोक्सानमा होला नि । सदस्यले के भन्लान् ?

साथिहरु ! संचालक समितीको बैठक बसि गंभिर छलफल गर्नुहोस् । सबैभन्दा पहिलो काम (नियमित काम बाहेक) साकोसको रणनीतिक योजना निर्माण वा पुनरावलोकन गर्नुहोस् ।

कम्तिमा ऋण, बचत, आर्थिक प्रशासन, मानव संशाधन र सुशासन सम्बन्धि निति/निर्देशिका नभए बनाउनुहोस् । छ भने पुनरावलोकन गर्ने कार्यक्रम रणनीतिमा समावेश गरेर परिवर्तनको अनुभुती हुने गरि काम थालौं ।

अरु धेरै काम क्रमशः गरौं । समस्याबाट भाग्ने होईन । आफ्नो विषयगत लगायतका संघहरु, सहकारि बैंक, नियामक निकाय र अभियानमा संलग्न साथिहरु संग सर सल्लाह गरौं । विद्वानहरु भन्ने गर्छन् स् कहिल्यै मर्दिन भनेर सिक्नु र भोलि नै मरि हालिन्छ, तसर्थ आजै गरीसक्नु छ भनेर काम गर्नु ।