‘फिर्तालीला’ को सिंहावलोकन

Newslaya Home

‘फिर्तालीला’ को सिंहावलोकन

– सेमन्त उपाध्याय
शुक्रबार १९, बैशाख २०७७

हुकुम शिरोधार्य गरेर एकान्तवासमा समाधिस्थ भै रहेकै बेला, ध्यान भंग गर्ने अनेकै लीलाहरु यो भुतलमा रचिए, सेलाए ।

लीला नम्बर एकमा आउँछ, ‘दल फुटाउ अभियान’

यो अभियानअन्तर्गत हाम्रा देशमा मुख्य चौतारा बा ले बालुवाटारबाट जारी गरेको अध्यादेश रुपि सनदको बिग्बिगिले कोरोना कहरको वातावरणलाई ट्वीस्ट गरायो । यो ट्वीस्टले बिचल्लीमा परेर बिल्लिबाठ भएका दुःखी मानिसहरुको दर्दनाक चित्कारलार्इ ओझेलमा पार्‍यो र कोहि कोहिको नकापी चेहेरा उदांगो पार्‍यो ।

एकातिर बालुवाटार र शितलटारका महामहिमहरुको तारतम्यता र हा मा हा ले सबैको चित खेलायो भने अर्कोतिर तुफानी शैलिका बैठक र कचहरिले एकान्तवासलाई थोरै भए पनि रोमान्चित तुल्यायो ।

कुरो उहीँ आउँछ, हाम्रा देशका मुख्खे अगुवाको काम गराई, तौर तरिका अनि कार्यशैलीको । यो तौरतरिका ले कम हैरानी खेलाएको छ ?

नबोलौ लोकतन्त्र आएको छ, बोलौ अरिंगालको मुखमा परिएला भन्ने डर । हामीले इतिहासमै कसैलाई नगरेको विश्वास र भरोसा गर्दै, मनैदेखिको आशा अपेक्षा राख्दै, दुई ठुला बामपंथीको मिलानपछि बनेको डबल चालकदलमध्ये यिनैलाई कुर्सिबिराज गराएको पनि निकै भयो ।

यिनिलाई हाम्रो श्री पुन्जे सर्वस्व र आशा, भरोसा, विश्वाससहित मुलुकै प्रमुख सरदार बनाउँदा उत्साही भएका मनमा आजकाल अमिलो पसेको पाईयो । यिनीलाई मुख्य सरदार बनाउदै गर्दा जुन गर्जन यी रुद्र घण्टीबाट फुट्थे, जुन चमक यी अनुहारमा चम्किन्थे, त्यो आजकाल धुमिल हुँदै आएको छ । घट्दै आएको छ । फिर्ता हुँदै आएको छ । यसरी फिर्ता हुनु का पछाडी सरदार ज्युको ‘फिर्ता लीला’ को ठुलै योगदान छ ।

पुस्तौंदेखि हाम्रा बाबु बराजेबाट धुप धुवार गरेर चली आएको गूठी नामक चिजबाट यस लीलाको श्री गणेशायः भयो । हुन त, बाबू बराजुको पालादेखि चली आएको भन्दै, कुनामा बसेर दुनामा खाने यो ‘गूठी’ भन्ने चिजको मिलि भगतलाई सुधार गर्न हाम्रा सरदार तात्तिए ।

खै के भो के भो ? सर सल्लाह पो पुगेन कि ? राय सुझाव पो सुनिएन कि ? वा एकोहोरो पेलियो कि ? खै किन हो नेपाल खाल्डोका रैथानेहरुले टिकि खान दिएनन् । त्यसमाथी अझ प्रतिपक्षीहरुको मुङ्ग्रे हठ र उच्काई, छुस्काईले निद हराम पारेपछि सरदार ज्युले उपाए रचे । उपाय हो ‘फिर्ता’ । फलस्वरूप गूठी विधेयक फिर्ता भो र ‘फिर्ता लीला’ को उदय भो ।

फेरि दशा बल्झियो । खै कति साल, कौन बेलाको कुरा हो, सरदार ज्यु बस्ने बालुवाटार वरपरको जग्गा जिमिन अघिनै जनधनबाट व्यक्तिधन भइ सकेको रहेछ । डा. बाबुरामका पालामा भएको अरे, देउजा ज्युको पालामा भएको अरे, भन्दै कोकोहोलो मच्चियो अनि उसै गरि थेच्चियो ।

सरदार ज्युको घेराबेराभन्दा बहिरको जग्गा जिमिन सार्वजनिकबाट व्यक्ति व्यक्तिमा कित्तासार भएको कुरो आयो । के चिज हो धुरीबाट कराउँछ भन्थे, करायो । नापी र मालपोतका धुलोमा दबिएका लालपुर्जा र नक्सा निकालेर कायाकैरन केलाउँदै जादा, एक टुक्रो चपरी बराबरको जिमिनको अबगालमा पर्न पुगे हाम्रा सरदार ज्युका हिमायती, पौड्याल बा ।

सरदारज्युको परम मित्र, सुख दुःखका साथी रहँदै आउनु भएका पौड्याल बाका नाममा ललिता निवासको अपुताली जिमिन गलपासो भयो । नियमानुसार , अनुसन्धान हुनुपर्ने ,छनबिन हुनुपर्ने, सत्य तथ्य खोज तलास गरेर कुरोको चुरोसम्म पुग्नु पर्ने हत्ते आई लाग्यो । खोतल्दै जाँदा पौड्यालबा को लहरो तान्दा पहरो थर्किने हो कि ? भन्ने चिन्ताले यो बेला पनि उपाय खोजियो र उपाय पत्ता लाग्यो । पौड्याल बा ले, घुम्दै फिर्दै आएको, सस्तोमा भेटेर चिलले चल्लो छोपे झैँ छोपेको, लफडा आए नेतागिरी गरेर मिलाइ हालिन्छ नि भनेर आँट गरि किनेको जिमिन जस्को हो उसैलाई ‘फिर्ता’ भनेर बोले, टनटन सकियो । यसरी फिर्ता लीलाको दोस्रो अध्याय रचियो । लचक लचक थचक परेर सबै चुपचाप । सरदारप्रति अघात बिश्वास भरिएका हाम्रा मनमा अमिलो पस्यो ।

यी सबै ‘फिर्ता लीला’ हरु मनिसहरुको मानस पटलमा बिस्तारै धुमिल हुँदै, बिस्मृत हुँदै जाँदै थिए । तर यी सबै लीलालाई उछिन्दै अब्बल दर्जाको लीला त भर्खर रचियो ।

मन्त्रीको गदगदि कुर्सी फुस्किएपछि बिछ्ट्ट रोदनमा तड्पिदै एकाध दुःखी आत्माले हाम्रा सरदारज्युका ढोका ढक्ढकाए । ढोका खोली हेर्दा ‘लौ न, हामी हाम्रा दलमा अटाएनौँ, हाम्रा दलले सत्ताको गुलियो स्वाद चाख्ने कहिले कहिले, तपाईकै भजन गाउला, बाटो खुकुलो पारी दिनु परो, उपाय लगाइदिनु पर्‍यो ।’ भन्दै साँझ बिहान मान्छेहरु आउन जाने थाले ।

हुन त जति भए पनि नपुग्ने ईश्वरकै खटन हो, हाम्रा सरदारज्युले पनि मुख मिठ्याए । आफ्नै हातमा प्रष्ट बहुमत र सत्ता चलाउन चाहिने एक से एक भाइ भारदार हुँदाहुँदै पनि ‘अझ ठुलो भै जाउँ’, ‘अझ दह्रो भै जाउँ’ के जान्छ र ? भन्दै मनमा लड्डु फुटाए ।

हरे शिव, यो लड्डु यस्ता बेलामा फुटाए कि, जुन बेला सिङ्गो धर्ती त्राही त्राही छ । जुन बेला रोग र व्याधिको ताण्डव नृत्यले समस्त मनुष्यजनहरुको आत्मा र मुटु दुबै कम्पयमान छ ।

अझ हाम्रो सरहदभित्रका हुँदा खाने र गरि खानेहरुको हुर्मत लिएर सातो उडाएको छ । र यी सबै पीडाको निवारण गर्ने जिम्मा यिनैलाई छ । आशा भरोसा यिनैको छ ।

तर सरदार ज्युले नमिठो पारामा मुख मिठ्याउदै, दल भन्जनकारी लीला रचे । उनान्सय मा एक थपे सय हुन्छ, सय भन्या सय हो भन्दै पद नपाएर रन्थनिएकालाई आफ्नै भारदारिमा सामेल गर्ने नचाहिँदो खेलोमा हात हाल्न पुगे । यसरी हाम्रा सरदार यस्ता खेलामा मनमगन भएको देखेर अन्य भाइ भारादारले दाउ कसे ।

रुप्पे पर्ने समान सयमा र सय पर्ने जिन्सी हजारमा भ्याटभ्याटती किने, बाडें । माओका देशबाट आएका औषधि सामान र तिन्का उपकरणमा आफ्नै भारदारहरुले गरेको उपद्रोको बारेमा सरदार ज्युले सुइको पाएनन् । पाउने पनि कसरी उनान्सय मा एक थपी सय बनाउने खेलोमा आफै मस्तमगन भए पछि । नचाहिदो लठ्ठमा फसे पछि ।

मौका छोपी भारदारहरुले हिरा फोडे । सुन्दै पनि आङ जिरिङ्ग हुने गाठ्ठे ।

भु जगतमा फैलिएको आतातायी जीवाणुलाई रोकथाम गर्न, जनरक्षाका लागि ल्याईएको मलहम पट्टिमा तिनैले र्‍याल काढे, जस्ले लाल झण्डा उठाउँदै सत्तारोहण गरेका थिए । पछि छापाहरुमा छ्याप छ्याप्ती भएपछि बल्ल सरदारज्युले थाहा पाउनु भयो अरे । भै गो ,आफ्नै भाइ भारदारले गरेछ्न्, अरु ले गरे पो, भन्दै उहीँ उपाय लगाइयो । उपाय ’फिर्ता’ । परिणामतः स्वास्थ सामाग्री खरिद गर्ने ठेक्का पनि फिर्ता भयो । फिर्ता लीलामा एक अध्याय थपियो । सेनाको जिम्मा लगाए जस्तो भो, जय हो ‘फिर्ता लीला’ ।

यति हुँदा पनि हाम्रा सरदारको मनमा लड्डु फुट्न छोडेन । तल मधेशमा गढ गाढेर बसेका, बेला बेलामा आलोचनाको बाणले कानै थुन्नु पर्ने झन्झटिलो कचकचका बिच, तिनैका दल छाडेर आफ्नै खल्तिमा पर्न आटेका जनप्रतिनिधि पाउँदा कसको मन न लोभियोस् । प्रकृतिको नियम, हाम्रा सरदारको पनि लोभियो ।

यता फर्के पनि कोरोना, उता फर्के पनि कोरोना अनि फेद न टुप्पोको लकडाउनको दिक्दारिले होला, राजनैतिक रसरङ्गको खेलोफड्कोमा रमाउने रहर जगाए अनि यो बेलाको आफ्नो मुख्य दायित्व भुले । गर्दै जाँदा चोइटिनेहरुले खुट्टा उचाले झै गरे । घरैसम्म लिन को को जाने ?

चन्द्रावतीलाई पाल्किमा ल्याएझैँ को को डोले खटिने ? ल्याएर कुन बिश्रामालयमा राख्ने ? कुन कुन ललिपोप चटाउने ? सबै कुरो ठिकठाक भयो । उछिट्याउहरु पनि पाल्की चढे र तोकिएको विश्रामालयमा आइ पुगे ।

कोहि कोहिले ‘अपहरण’ भनेर घोक्रो फुलाए, कराए अनि थाके । जति कुरो घुमाए पनि, आउन मन भएका आए, आउँ आउँ भएकाहरु फस्याङ फुसुङ पर्दा फकिए र होटेलमा भेला भए ।

यसरी नानीदेखिको बानी संसदीय कलाकारिता रुपि योजना सफल भएको देखि सरदारज्यु येस्सो सुस्ताएका मात्र के थिए, अर्को चटक देखियो । चोसो मोसो मिलेको, तै रानी मै रानी भएर ठ्याक्क कुरो नमिलेको, दुई दलको हंसले एकै चोटि ठाउँ छोड्यो । आ–आफ्ना मालसामानको रक्षा हेतु अबेर रातमा सम्धी अङ्गालोमा बेरिए । अर्थात् दुई दल मिलान भयो ।

यसो हेर्‍यो, कनेर दुई पन्ना लेखिएको सम्झौतामा आठ भाइले ल्याप्चे ठोक्दै हाम्रा सरदारज्युालई निदाउनै दिएनन् । गाठ्ठे, हामिले जानेको त, दुई दल मिल्दा अनेकौं हुन्थ्यो । सैद्धान्तिक बैचारिक बहस हुन्थ्यो । सांगठनिक ढाँचाको खाका कोरिन्थ्यो । यसपाली त, एउटाको झण्डा, अर्काको चिन्ह, खेला खतम ।

खैर सरदारज्युको सारा कियाधरयाको सर्वनाश भो । फुट्न आटेका चिजबिज अलिक बारलाई रोकिए । सम्धि अङ्गालोमा बेरिदै लकडाउनको तेजलाई पुरै डाउन गर्दै एकाबिहानै निर्वाचन आयोगको पटाङ्गिनिमा नव गठित दलको भिडभाड । अनि त अब के हुनुथ्यो ? फुटाउन ल्याएको अध्यादेश ले जुटाएर गयो । बरु आफ्नै दलभित्रबाट सत्तोसराप । भित्र हेरे उस्तै, बहिर हेरे उस्तै ।

कोरोनाको लडाई छोडेर कता हिडेको ? भन्ने तिखालु प्रश्नको घोचाइ त्यतिकै । फेरि उहीँ उपाय अबलम्बन भयो। उपाय ‘फिर्ता’ । त्यसका बाजे । जुन बाटो गरेर सनद अध्यादेश आएको थियो त्यही बाटो गरेर फिर्ता भयो । दुबै महामहिमले जिल खाए । अनि यसरी ‘फिर्ता लीला’ले शिखर चुम्यो । नाथे अन्य फिर्ता त कति कति । सबैको बयान गरि साद्दे छैन । मुलभुत प्रवृतिको लेखाजोखा यतिले पुग्ला ।

सत्ताका शिखरमा बस्नेहरुको काम र जिम्मेवारी पनि शिखर तुल्य हुन्छ । यस्ता उच्चासिनहरुले, बोल्दा, गफिदा, अझ केही कार्य गरिँदा तौलिनु पर्छ । होस पुर्‍याएर पाइलो चाल्नुपर्छ । यति कथनको मनन् हाम्रा सरदारज्युलार्इ नभएको नै चाहिँ होइन होला ।

हिड्दै छ पाइला मेट्दैछ भन्ने कुरा अरु पथमा लागू होला तर राजनैतिक पथमा नेताले चालेका हरेक पाईला अमिट चरण चिन्हका रुपमा कायम रहन्छन् । जस्को लेखाजोखा चिरकालसम्म रहन्छ । सरदारको एक बोलीले अनेकौ तरंग ल्याउँछ, अनेकौ तर्कना पैदा हुन्छ ।

तसर्थ, हामी नाथे सामान्य जनको यहि अपेक्षा छ, मन लागे गर्दै जाने, गारो परे फिर्ता लिने । झोँक चले बोली पठाउने अनि बोलेको कुरा खै के भो त ? भन्दा ‘मैले यस्तो कहिले बोले ?’ भनेर उल्टै प्रतिप्रश्न गर्ने नहोस् ।

आशा गरेर, बिश्वास गरेर आफै माथी शासन गर्न चुनेर पठाएका सरदारबाट यसरि पानीका फोकाजस्ता निर्णय हुँदा चुनी पठाउनेलाई पीडा हुन्छ नि हाउ । आश गरेको मान्छे सरदार भएपछि मैमत्ता गर्दा रिस उठ्छ नि हाउ ।

अब केही गर्दा सर सल्लाह गरेर गरेको राम्रो ।

आफ्ना धुपौरेको भन्दा आलोचकको कुरा सुनेको राम्रो ।

सहयोद्धाहरु सङग मन माजामाज गरेको राम्रो ।

तब मात्र यो ‘फिर्ता लीला’ को दुर्गती भोग्नु नपर्ला । उस्तै भो भने हाम्रो सरदार पनि फिर्ता गरौँ भनेर भन्न नाथे यी सामान्य जनहरुलाई के बित्दो छ र ?