नोबेलले अप्रेशन थिएटरबाट निकालेको गर्भवती महिलाले जन्माइन् छोरा

Newslaya Home

नोबेलले अप्रेशन थिएटरबाट निकालेको गर्भवती महिलाले जन्माइन् छोरा

शुक्रबार १९, बैशाख २०७७

विराटनगर । विराटनगरको नोबेल अस्पतालले अप्रेशन थिएटरबाट निकालेको गर्भवती महिलाले छोरा जन्माएकी छिन् । उदयपुर घर भएकै कारण विराटनगर स्थित नोबेल मेडिकल कलेजले शल्यक्रिया कक्षमा राखिसकेपछि बाहिर निकालेको थियो ।

प्रसुति शल्यक्रियाको लागि भर्ना भएकी उदयपुरको त्रियुगा–११ की सरस्वती रौनियारलाई अप्रेशन थिएटरबाट निकाल्दै नोबेलले कोशी अस्पताल रेफर गरेको हो ।

प्रसूति व्यथा लागेपछि मंगलबार नोबेलमा भर्ना गरिएकी उनको बुधबार बिहान शल्यक्रिया गर्ने समयमा उदयपुर घर भएको बुझेपछि चिकित्सकले शल्यक्रिया कक्षबाटै बाहिर निकालेर रेफर गरेको उनका श्रीमान प्रकाश गुप्ताले बताए ।

नोबेलबाट रेफर भएर आएकी सरस्वतीको कोशी अस्पतालमा सफल शल्यक्रिया भएको थियो । आमा छोरा दुबै जनाको स्वास्थ्य अवस्था राम्रो रहेको श्रीमान गुप्ताले बताए ।

नोबेल मेडिकल कलेजले उदयपुरबाट आएको बिरामी भएकोले रेफर गरिएको पुर्जीमै लेखेको छ । नोबेलबाट आएको रेफर कागज हेरेपछि कोशीका चिकित्सक नै छक्क परेका थिए ।

नोबेल मेडिकल कलेजले भने शल्यक्रियाका लागि भर्ना भएकी बिरामीमा ज्वरो आएको दाबी गरेको छ । अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले शल्यक्रिया गर्ने बेलामा ज्वरो देखिएकाले चिकित्सकले कोरोनाको शंका गरेपछि कोशी पठाएको दावी गरे । तर, कोशीका चिकित्सक र उनका श्रीमानले ज्वरो नआएको बताएका छन् ।

नोबेलले रेफर गरेको कागजमा पनि ज्वरो आएको लेखिएको छैन । नोबेलले बिरामी उदयपुरकै भएका कारण रेफर गरेको थियो । यसअघि नोबेलले मोरङको पथरी घर भएकी एक बृद्धाको अपरेशनको तयारी गरेको बेला खोकेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरेको थियो ।