धर्तीकी ममतामयी सर्जक : आमा

Newslaya Home

धर्तीकी ममतामयी सर्जक : आमा

– नवराज सुवेदी
बिहीबार ११, बैशाख २०७७

बिहानै उठेर उत्तरतिर फर्कदैँ हाइ काढ्दा फूल झै हाँसेका हिमालसंगै हाम्रो वस्तीको कोमलता नियाल्ने ट्याम्के, सेल्मे र मुलडाँडा हेरौँ मलाई मेरी आमा, बा, मेरो उचाइपछिको अग्लो स्तम्भ त्यही जस्तो लाग्थ्यो । सगरमाथाको उचाई नाप्न र देख्न सक्ने त म निकै पछि भए हुँला । दक्षिणतिरको कुरै अलग्गै । वारिपारिका वस्तिलाई साँध बनाएर हरपल बगीरहने सावा, रावा र तावा । ओहो, छ ऋतु बाह्रै मास नथाकेर बगीरहने तिनको पवित्र जल ।
सायद म र हामी नरहुँला तिनिहरु जीवितै रहलान् र पुस्तौनि आफ्ना सन्तानलाई त्यसैगरी मातृत्व दिँदा हुन्, जसरी हामीलाई दिएथे ।

जिन्दगी कति अकल्पनीय छ । मैले मात्र हैन होला यो पृथ्वीमा जन्म लिने हरेक मानव जातिले हिमाल, पहाड, तराइ देख्न, हेर्न, सुन्न र जिवनको अनुभव जान्नसक्ने बनाउने सजिव मन्दिर हो, आमाको काख । जुन मन्दिरको कोखमा बाँस लियौ, फेरि जन्म पायौ र अथाह ममताको छहारीमा जिवनलाई उच्चतम बनाउन सफल भयौँ आज त्यहीँ मन्दिरलाई स्मरण गर्ने दिन अथवा आमाको मुख हेर्ने दिन (माथा तिर्थ औँशी) ।

सुगम, दुर्गम जहाँसुकै जन्मियोस् मानिस, सायद तिनकी आमा हुँदिहुन् उसले सजिलो, अफ्ठेरो थाहापाउन निकै समय पर्खनैपर्छ । आमा मात्र एउटा यस्तो अस्त्र हुन्, जसले आफ्ना सन्तानको हजार, लाख दुःख पीडा र समस्यालाई सिरोपर गरी तिनलाई सुखी र खुसी बनाउन सक्दिहुन् । अवाक समयको बोलीबुझ्ने निरक्षर अवस्थाको शिक्षा प्रदान गर्ने, मुढ समयमा गतिदिने, यस्तै यस्तै धेरै ... ।

निकै समय भएछ क्यारे हामीले आफ्नो बालपनलाई नसम्झेको । सम्झोस् पनि कसरी, तिमी कलिलै छौ बिचार गर है भनिदिने, हिड्नुभन्दा पहिला खुट्टा जुत्ता, खानुभन्दा अघि भोक प्यास र जिन्दगी जिउनुभन्दा पहिला जिन्दगी दिने हामी सबैकी आमा यो धर्तिमा हुँदा त मानिस बुढो नै नहुने । ओहो कस्तो अचम्म ।

सधै केटाकेटीपना देखाउनेहरु मैले जाने चिनेसम्म साथिहरु आमाको साथ र आशिर्वाद पाएर पो रै’छ । नहोस् पनि कसरी वर्षमा एक दुई दिन हामी मुस्किलले मन्दिर पुग्छौँ । उनीहरु त प्रत्येक दिन घरमै जीवित मन्दिरको दर्शन गरेरै होला यति बिघ्न खुसी हुन सकेको ।

डाहालाग्दो हुनसक्छ जिन्दगीले आजभोली ठुलै फाँट रोजेको होला । यो फाँटिलो जमिन, चौडा सडक त्यतिबेला गाउँको भिरालो खोल्से बाटो भन्दापनि साँघुरो लाग्छ, जतिबेला मैले मेरि आमालाई सम्झन्छु । किनकी मेरो जिन्दगीको कस्टकर यात्रामा मलाई फकाउँदै डोर्याउने र तिमी त्यो बाटो नबिराइ हिड्नु है भन्ने मेरी आमा आज मसङ्ग नहुँदा एक्लै हुन्छु ...।

जसकी आमा सँगै हुनुहुन्छ, धेरै माया गर्नुहोला । यो समय तपाईको ममता फर्काउने समय हुनसक्छ । जतिबेला मेरा खुट्टाले आमाको आड लिएर आँगनमा हिड्न खोज्थे, मेरो हात समाइदिने र आड दिने आमा हुन्थिन् । आफू सिधो खाएर भएपनि मलाई मीठो खुवाउने पनि आमा नै थिइन् ।

हिउँदको चर्को घामले आमाको डढाल्नु सेक्थ्यो । म आमाको काखमा लुक्थेँ । बर्खाको मुसलधारे पानीले पनि आमालाई नै रुझाउँथ्यो । मेरा लागि आमा छाता बन्नुहुन्थ्यो । मेरो भविष्यको निम्ति प्रकृतीलाई नै जित्न खोज्ने मेरी आमालाई सम्झन मैले सायदै यो एक दिन कुर्दो हुँ ।

भिरालो वस्ती, मिलेका लामा लामा कोले बारीका पाटा, ओल्लो छेउ, पल्लो छेउ पुग्न निकै बेर लाग्ने छाँदिएका खेतका आलि सप्पै छाप्छाप्ती गरिसक्नुहुन्थ्यो आमा मझेत्रो खकाने पारी मलाई ढाडमा बोकेर ।

आमाले त्यो दुर्गम र अशिक्षित समाजलाई चिर्न सक्ने हिम्मत कसरी गर्नुभो होला, हामिलाई स्कुल पठाएर ? अचम्म लाग्छ ।

आफुलाई हातसरो गर्ने सप्पै नानिहरु स्कुल पठाउनु उनका लागी ठूलो सङ्कट हुनआउँथ्यो । भालेको डाँकोभन्दा पहिला उठ्नु, घर, गोठ, सबैको चित्त बुझाएर आखिर बासङ्गै दाँजिएर मेलो सिध्याउनु आमाको दैनिकी थियो ।

खेती बाध्यता थियो । किताब, कपि, कलम, एकसरो लुगा, स्कुलको फिस, चाडबाडलगायत सबै गर्जो टार्ने साधन भनेकै खेति थियो ।

यी यावत कर्मका बीचमा बित्ने जिवनलाई नै खुसी र सुखी बनाउने हरदम प्रयत्न गर्ने बाआमाका मुहारमा अनगिन्ती मुझाहरु स्पस्ट देखिन्थे ।

कुनै खर्च टार्नुपरे आमा बजार जानुहुन्थ्यो । ढिकिमा राम्रोसँग फलेका सग्ला चामल बजारमा बेचिन्थे । बाँकी छेउ टुप्पो कनिका घरका पकवान बन्थे, बारिमा फलेको फर्सिको मुन्टामा आलु मिसाएर कराइभरी हालेको झोल र आफ्नै खेतका आलिमा फलेका थरीथरीका दालको बाक्लो मिसिदाँ त्यो खानामा आमाको जादुइ स्वाद मिसिन्थ्यो । जे जसरी दिए, खुवाएपनि आमाको ममता र बाको पसिना मिसिएपछी जिन्दगीको भोक यसै तृप्त हुँदो रहेछ ।

हरेक वसन्त बित्दै गए । शरद, गृष्मका साथमा वर्षा पनि झेलिए । उतिबेलाको चन्चलेपन र अनिस्थिरताले कम आँकलन गरेर होला, यो जिन्दगी आफ्नो जस्तो लाग्थ्यो । अहिले आफै पाकेपछी भने यो जिन्दगी बा आमाले दिएको धर्तिको सुन्दर उपहार जस्तो लाग्छ ।

उतिबेला आमाको डँडाल्नु नडढेको भए मेरो अनुहार डढेर कालो हुनसक्थ्यो । आमाले झरी नछेकिदिएको भए, म बिरामी हुनसक्थेँ । घर गोठ र मेलो धाएर मेरो शैक्षिक ढोका नखोलिदिएको भए म यी हरफहरु कसरी लेख्थेँ र ? आफ्नो वर्तमान सिथिल हुँदाहुँदै पनी हाम्रो भविष्यको बादल हटाएर सुन्दर गोरेटो प्रदान गर्ने आमालाई जीवन्त सम्झना छ । यी जीवनहरु तपाईहरु कै नासो हुन् संसारका सम्पुर्ण आमाहरुमा नमन ।