मोरङस्थित क्वारेन्टाइनका ९९ जना घर फर्किए

Newslaya Home

मोरङस्थित क्वारेन्टाइनका ९९ जना घर फर्किए

बिहीबार ०४, बैशाख २०७७

विराटनगर । मोरङको टाँडीस्थित प्रदेश सरकारले तयार परेको क्वारेन्टाइनका धेरैजसो घर फर्किएका छन् ।

लकडाउनअघि झापाको काकडभिट्टा र मोरङको रानी नाकाबाट नेपाल प्रवेश गरेका र विदेशबाट फर्किएका प्रदेश १ का वासिन्दालाई क्वारेन्टाइनमा राखिएको थियो । नमुना परीक्षण गर्दा कोरोना संक्रमण नभएको पाइएपछि बिहीबारसम्म क्वारेन्टाइनबाट ९९ जना घर फर्किएका छन् ।

एक साता घरमै क्वारेन्टाइनमा बस्न भनि क्वारेन्टाइनबाट घर पठाइएका व्यक्तिलाई स्थायी ठेगाना भएको स्थानीय तहको जिम्मा लगाएको क्वारेन्टाइनस्थल व्यवस्थापनको जिम्मा लिएको नेपाली सेनाले जनाएको छ ।

क्वारेन्टाइनमा रहेका ६ भारतीयसहित १ सय २२ जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो । कोरोना संक्रमण नदेखिएकाहरुलाई जनप्रतिनिधिको जिम्मा लगाइएको नेपाली सेनाको सूर्यदल गणका गणपति प्रमुख सेनानी रघुनाथ पौडेलले बताए ।

लकडाउनपछि रानी नाकाबाट क्वारेन्टाइनमा ल्याइएका १२ जनालाई भने दुई सातापछि परीक्षण गरिने प्रदेशको सामाजिक विकास मन्त्रालयको निगरानी प्रतिवेदन तथा अनुगमन समितिका संयोजक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।