राहत कोषमा बराहक्षेत्र नगरपालिकाको ५० लाख, उपमेयरले लेखिन् ‘मलाई नै थाहा छैन’

Newslaya Home

राहत कोषमा बराहक्षेत्र नगरपालिकाको ५० लाख, उपमेयरले लेखिन् ‘मलाई नै थाहा छैन’

- बाबुराम कार्की
बिहीबार ०४, बैशाख २०७७

बराहक्षेत्र । बराहक्षेत्र नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन राहत कोषमा ५० लाख थपेको छ । तर उपमेयर कमला रिखमले नै आफुलाई रकम थपिएको विषयमा थाहा नभएको भन्दै अभिव्यक्ति दिएकी छिन् ।

नगरपालिकाले विपद पुर्व तयारी र प्रतिकार्य योजना कोषबाट १५ लाख, विपन्न वर्ग उत्थान कार्यक्रमबाट २० लाख, विपद घटना पिडित राहत व्यवस्थाबाट ५ लाख र संघ संस्था अनुदानबाट १० लाख रुपैया रकमान्तर गरि राहत कोषमा थप गरेको हो ।

तर उपमेयर रिखमले आफू कार्यसमितिको सदस्य भएपनि आफैलाई थाहा नभएको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।

‘हामी कार्यपालिकाका सदस्यहरुलाई थाहा नै छन थप रकमको बारेमा । एक्लै खल्तिबाट झीकेर कस्ले थप गरेको हो ।’ उनले फेसबुकमा लेखेकी छिन् । उनले नगरपालिकाले १० लाख रुपैया दिनेबारे सल्लाह भएपनि ५० लाखको विषयमा कुनै सल्लाह कार्यसमिति सदस्यसँग नभएको बताइन् ।

बराहक्षेत्रका लेखा अधिकृत वीरेन्द्र साहले मेयरको निर्देशनमा रकम छुट्याइएको बताउँदै उपमेयरलाई जानकारी दिन नपाएको बताए । उनले त्यसका अतिरिक्त सामुदायिक विद्यालयका मावि शिक्षकको ५ दिन र आधारभुत तहतर्फका शिक्षकहरुको ३ दिनको तलब कट्टा हुनेगरी १५ लाख १० हजार रुपैया जम्मा गरिएको जानकारी दिए । अहिलेसम्म राहत कोषमा ९३ लाख रुपैया बढी जम्मा भइसकेको छ ।

राहत वितरण गर्नको लागि यसअघि चामलको अभाव भएको भन्दै नगरपालिकाले चामल आपूर्तीका लागि सुचना जारी गरेको थियो । वडाहरुमा राहत वितरण गरिरहेको नगरपालिकाले वडाहरुमा भने राहत वितरण निष्पक्ष नभएको स्थानीयको आरोप छ । राहत लिन पैसावालहरुसमेत तछाडमछाड गर्ने गरेको स्थानीयको आरोप छ ।