कोरोनाभन्दा ठूलो संकट आउँदैछ, कसरी लड्छौ सरकार ?

Newslaya Home

कोरोनाभन्दा ठूलो संकट आउँदैछ, कसरी लड्छौ सरकार ?

- हिमाल दाहाल
बुधबार ०३, बैशाख २०७७

सबै ठिकठाक चल्दैथियो । नयाँ संविधान बन्यो, सरकारहरु बने । नियम कानुन बन्यो । उद्योगी र आम जनतामा करको भार थियो, त्यो पनि सहँदै थिए । जे होस्, विदेश गएका नेपालीहरुले पठाएको रेमिटान्सबाट गजबैसँग चल्दै थियो देश । 

तर सरकारले दीर्घकालिन महत्वका काम गर्नै सकेन । देश व्यवस्थित भएन, जस्तो अपेक्षा थियो । अलिलि सुधारका काम भए । तर सिस्टम बनेन । जसको कारण ती काम पनि बेकार साबित हुने खतरा बढेको छ । हामी साना साना योजना, पद र प्रतिष्ठामै अल्मलियौं । हामीसँग दुरगामी सोच्ने, भिजन बोक्ने र सही समयमा सही काम गरेर लागु गर्ने नेतृत्व नै भएन ।

संघीयताको नाममा देशले धान्नै नसक्ने मन्त्री, सांसद, कर्मचारी अनि तिनको सेवा सुविधामा खर्च गरीरहेको सरकार पहिलेका सरकारहरुभन्दा अपेक्षित भिन्न हुन सकेन । त्यसैले भ्रष्टाचारलाई रोक्न सकेन । आधा उधी ढुकुटी कमिसन मै रित्तिन्छ ।

अर्कोतर्फ रेमिटान्सलाई पनि सदुपयोग गर्न सकेन । न त विदेशबाट नेपालीले कमाएर पठाएको पैसा नै उत्पादनमुलक काममा लगानीको जिम्मा लिन सक्यो सरकारले । त्यसैले समस्या ज्युका त्युँ रहे । दिउँसो कमाएर बेलुका खाने आम नेपालीको आर्थिक हैसियतजस्तै भयो देश पनि ।

नेपाल अहिले कोरोनासँग जुधिरहेको छ । कोरोना भाइरस रोक्न आच्छु आच्छु परिरहेको छ । तर कोरोना भन्दा ठूलो संकट नेपालको सम्मुख छ । त्यो हो, आर्थिक संकट ।

राष्ट्रिय ढुकुटी भर्न मुख्य योगदान दिइरहेको रेमिटान्स पठाउने नेपाली श्रमिकहरुलाई सम्बन्धीत देशले फिर्ता पठाउन खोज्दैछ । खाडी मुलुकहरु आफ्नो देशबाट नागरिक फिर्ता लान भनिरहेका छन् । विश्वभर एकातिर बढ्दो कोरोना त्रास, अर्कोतिर बन्द उद्योग धन्दा र कलकारखाना । भावनाले देश चल्छ होला, तर विदेश चल्दैन । भारतसमेत गरेर ६० लाख नेपाली विदेशमा काम गरिरहेका छन् । संकट सजिलै समाधान हुने छाँट देखिँदैन । अबको ६ महिना संकट लम्बियो भने विदेशमा र स्वदेशमा नेपालीहरु भोकभोकै मर्ने अवस्था आउँछ ।

ल, जसोतसो कोरोनालाई नेपालले परास्त गर्न सक्यो भने पनि त्यसपछि आउने आर्थिक संकटलाई परास्त गर्न हामीमाझ धेरै विकल्पहरु छैनन् । भुकम्पको बेलामा सहयोग गर्ने भारत सरकार आफै अहिले निरीह छ । नाकाबन्दीको बेलामा सामान पठाउँछु भन्दै ढाडस दिने चीनले पनि अहिले मेडिकल सामाग्री दिन पनि वास्ता गरेको छैन ।

अरु देश आफै कोरोनासँग जुधिरहेका छन् । ऋण दिने देशहरु आफै आर्थिक रुपले क्षत विक्षत् छन् । एक सताब्दी यताकै ठूलो मन्दीको चेतावनी अर्थविद्ले दिएका छन् । जसबाट अब नेपालीलाई प्रत्यक्ष मार पर्नेवाला छ ।

यस्तो अवस्थामा विदेशबाट यदि ५ लाख नेपाली मात्र ल्याउनुपर्यो भने पनि कसरी ल्याउने अनि कहाँ कसरी राख्ने ? एक महिना क्वारेन्टाइनमा बस्लान्, अर्को महिना के गरि परिवार पाल्छन् ?

एकातिर साहुको ऋण, अर्कोतिर खानको समस्या ।

यसै बिचमा पढ्ने बहानामा कमाउन विदेश गएका हजारौं विद्यार्थीहरु पनि नेपाल फर्किने सोँचमा छन् । अब उनीहरु पनि फर्किए भने देशले कसरी पाल्छ ? काम लगाएरै भएपनि उनीहरुले लिएको ऋण तिरिदिन सक्छ सरकारले ? ऋण तिर्न सकेनन् भने बेघरबार हुने हजारौं परिवार सडकमा आउँदैछन् ।

भारतबाट भित्रिने मानिसहरुलाई रोक्न नसक्दा नेपालमा लकडाउन  लम्बिरहेको छ । सीमानालाई दीर्घकालिन रुपमा नियन्त्रण गर्ने गरी छेकबार लगाउने विषयमा पनि बहस भइरहेको छ । दीर्घकालिन अर्थ बोक्ने यस्ता कामहरु नगरेकै कारण अहिले संकट लम्बिरहेको छ । कामकाजी कर्मकाण्डमै सरकार अल्मलिरहेको छ ।

भारतबाट हामीले मानिस मात्र होइन, तरकारी र फलफूलसमेत केही महिना भित्राउन बन्द गर्नुपर्छ । तर दुर्भाग्य, भारतबाट तरकारी भित्रिरहँदा नेपाली कृषकले फलाएका तरकारीहरु बारीमै कुहिरहेका छन् । मलबिउको अभावमा खेती गर्न समस्या भइरहेकोछ छ । आज खेती भएन भने अबको एक महिनापछि के खाने ? प्रश्न अनुत्तरीत छ ।

कोरोना त एकाध महिनाको संकट होला । तर कोरोनापछि निम्तिने आर्थिक संकटलाई कसरी परास्त गर्ने ? भिजन बनाउने बेला भैसकेको छ । आज योजना बनाइएन भने निम्तिने संकटले नेपाललाई २० वर्ष पछि धकेल्छ । बेलैमा योजना बनाऔं ।