इटहरीमा बाल अस्पतालको यस्तो छ तयारी, होस्टेमा हैंसे गरौं

Newslaya Home

इटहरीमा बाल अस्पतालको यस्तो छ तयारी, होस्टेमा हैंसे गरौं

शनिबार २९, चैत २०७६

सामाजिक सन्जालमा अहिले बहस उठिरहेको अस्पताल सम्बन्धमा हामीले एउटा कोणबाट गरिरहेको प्रयास हाललाई फेसबुकमार्फत् र पुनः आम समुदायमा जानकारी गराउने छौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डाक्टर भगवान कोइरालाज्युको अब रिटायर्ड समय बालबालिकाको स्वास्थ्यमा काम गर्ने भन्ने सोँचअनुसार काठमाडौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थको स्थापना गरि सेवामुलक सुविधायुक्त बाल अस्पताल सातै वटा प्रदेशमा स्थपना गर्ने र मुख्य केन्द्र काठमाडौंमा स्थापना गर्ने उद्देश्य अनुरुप नेपाल सरकारले काठमाडौंमा जग्गा समेत उपलब्ध गराइसकेकोछ ।

अहिले कुनै बच्चालाइ एकै चोटि मुटु र किड्नीको या कुनै दुई वटा समस्या भएको खण्डमा पैसा हुने भारत तिर अनि अलि कम हुने कान्ति बाल अस्पताल सम्म पुग्न सकिएला । आम नागरिकको अवस्था गार्हो छ । राज्यसँग नागरिकको सहकार्यमा ट्रष्ट मोडेलको यस अस्पताल प्रदेश ५ मा स्थापनार्थ माननीय मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ, पोखराका मेयर मानबहादुर जिसि र उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मिको पहल र सकृयतामा साविकको लेखनाथ नगरपालिकाको भवन र ३७ रोपनी जग्गा प्राप्त भै काम अघि बढिरहेकोछ ।

त्यस्तै प्रदेस ७ मा ऋषिराज लुम्सालिज्युको पहलमा व्यवस्थापन भै रहेकोछ ।

हाम्रो नजिक धरान बिराटनगरमा मेडिकल कलेज तथा अस्पताल भएता पनि बाल स्वास्थ्य केन्द्रीत अस्पताल प्रदेशमै छैनन् । प्रदेश १ को अस्पताल विभिन्न ठाउँमा स्थापना गर्न आवश्यक सहयोग जमिन र क्रमागत बजेटको व्यवस्था गरिदिने भन्ने प्रयास हुँदाहुँदै पनि प्रा.डा. भगवान कोइराला, युवा अभियन्ता दीपकराज सापकोटा र टिमले इटहरीमा स्थापना गर्दा अझ प्रदेस २ का बालबालिकाले पनि सेवा लिन पाउँछन् भन्ने उद्देश्यसहित इटहरीकालागी प्रारम्भिक कार्य सुरु गरिएको छ ।

उक्त अस्पतालको बाल सद्भावना दुतका रुपमा कोइरालाले इटहरीमै आएर प्रितम आचार्यसँग सम्झौता गर्नुभएको थियो भने इटहरीका मेयर द्वारिकलाल चौधरीज्युको समुपस्थितिमा काठमाडौंमा आयोजित भब्य कार्यक्रममा आचार्यलाई सद्भावना दुत घोषित गरिसकिएको छ ।

सो अस्पताल निर्माणको लागि हाललाई करिब एक बिगाह जग्गाले पुग्ने भन्ने योजना मुताविक जग्गा खोज्ने र नक्सा बनाउने कार्य अघि बढिरहेकोछ । काठमाडौंको मुख्य अस्पतालसँगै इटहरीको यो अस्पतालको काम अघि बढाउने योजना हुँदाहुँदै प्रा.डा. भगवान कोइरालाज्युलाई नेपाल सरकारले नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाएपछी केही महिना गति धिमा भएको अवस्थामा अहिले कोरोनाको कहर आइलागेको छ ।

यस बाल स्वास्थ्य अस्पताल स्थापना हुँदा बाल स्वास्थ्यका लागि प्रदेस १ र २ को केन्द्रको रुपमा इटहरीलाई अगाडि बढाउन सकिन्छ र बालस्वास्थ्यको क्षेत्रमा राज्यबाट भैरहेको न्यून सेवालाई सहयोग गर्न सकिन्छ । ट्रष्ट मोडेलको यो अस्पताल भोलि एउटा गतिलो बालस्वास्थ्यको ईन्स्टिच्युटको रुपमा अघि बढ्ने छ । किनकी यसको अवधारणा नै काठमाडौं इन्टिच्युट अफ चाइल्ड हेल्थबाट आएको हो ।

अब यसका निमित्त केही आन्तरिक कार्य पश्चात बृहत् सल्लाह एवम् छलफल अगाडि बढाइने नै छ । प्रदेश सरकार, स्थानीय सरकारसहित तपाई हामीले आआफ्नो स्थानबाट होस्टेमा हैसे गर्ने हो भने यो इटहरीको एउटा छुट्टै पहिचानको रुपमा स्थापित हुनेछ ।