कोरोनाले ज्यान गए एक मिटर टाढाबाट शव हेर्न पाउने

Newslaya Home

कोरोनाले ज्यान गए एक मिटर टाढाबाट शव हेर्न पाउने

बिहीबार २७, चैत २०७६

इटहरी । कोरोना भाइरसको कारण कोहि मानिसको ज्यान गए सरकारले शवलाई व्यवस्थापन कसरी गर्ने भनेर कार्यविधि बनाएको छ । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट मृत्यु भएकाको शवको व्यवस्थापनसम्बन्धी १९ बुँदे कार्यविधि सार्वजनिक गरेको हो ।

मन्त्रालयले भविष्यमा देशभित्र कुनै संक्रमितको मृत्यु हुन गएमा त्यस्तो अवस्थामा कसरी शव व्यवस्थापन तथा अन्तिम संस्कार गर्ने भन्नेबारे कार्यविधि ल्याएको हो ।

सार्वजनिक गरेको संक्षिप्त कार्यविधि अनुसार मृतकका आफन्तले शव छुन पाउने छैनन् । जसमा ६० वर्ष भन्दा बढी उमेर भएका र दीर्घरोगीहरुलाई शव नजिक जानबाट रोक्ने उल्लेख गरिएको छ ।

करीब एक मिटर टाढाबाट पालैपालो हेर्न, सदगत गर्नुपूर्व आफ्नो कुल परम्परा अनुसार शवलाई नछोईकन जल छर्कन, पाठ गर्न तथा फूलमाला चढाउन भने सक्नेछन् ।

त्यसैगरी अन्तिम संस्कार सहभागी हुने मृतक परिवारका सदस्यले पनि पीपीई लगाएको हुनुपर्ने व्यवस्था गरिएको छ । मृतकको शव हेर्न चाहाने परिवारका सदस्यहरुले एक मिटर परैबाट हेर्ने सकिने कार्यविधिमा उल्लेख छ ।

साधारण शव बहानबाटै लैजान सकिने व्यवस्था कार्यविधिले तयार पारेको छ ।