प्रदेश १ : कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ५० लाखको बिमा

Newslaya Home

प्रदेश १ : कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ५० लाखको बिमा

मङ्गलबार २५, चैत २०७६

विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको ज्यान गएमा तीनका परिवारलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ ।

प्रदेश १ सरकारको मंगलबार बसेको बैठकले कोरोना संक्रमितको उपचारका क्रममा खटिँदा ज्यान गुमाउने स्वास्थ्यकर्मीसहित कर्मचारीका परिवारलाई ५० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकले गरेको निर्णय सरकारी वा गैरसरकारी अस्पतालमा प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मीबाहेक सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्थानीय तहमा कार्यरत कर्मचारीको हकमा पनि लागू हुनेछ ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले कोरोना उपचारमा खटिनेहरूको सुरक्षाको प्रत्याभूति गर्न यस्तो निर्णय गरिएको बताए ।

यस्तै, बैठकमा कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा प्रदेश सरकार वा सो मातहतका निकायले खटाएका स्वास्थ्य क्षेत्रका जनशक्तिहरूलाई नेपाल सरकारले निर्धारण गरे बमोजिम दोहोरो नपर्ने गरी प्रोत्साहन भत्ता प्रदान गर्ने निर्णय समेत गरिएको छ ।

प्रदेश १ मा अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन । मंगलबारसम्म प्रदेशका ९० जनाको ‘स्वाब’ संकलन भएको छ भने ८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बाँकी ५ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश सरकारले जनाएको छ ।