विपतमा परेका नेपालीलाई स्वदेश फर्काउन सर्वोच्चको आदेश

Newslaya Home

विपतमा परेका नेपालीलाई स्वदेश फर्काउन सर्वोच्चको आदेश

मङ्गलबार २५, चैत २०७६

काठमाडौं । सर्वोच्च अदालतले विदेशमा खान, बस्न र उपचारको नपाएका नेपाली नागरिकलाई स्वदेश ल्याउने व्यवस्था मिलाउन आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलाशले मंगलबार विपतमा परेर नेपाल फर्कन इच्छुक नागरिकका लागि यस्तो व्यवस्था गर्न आदेश दिएको हो ।

अदालतले स्वदेश फर्कनेहरूको अद्यावधिक लगत राखेर क्वारेन्टाइनमा राख्न समेत आदेश दिएको छ ।

अधिवक्ताद्वय मिना खड्का बस्नेत, मनिषकुमार श्रेष्ठ लगायतको रिटमाथि अन्तरिम आदेश जारी गर्दै अदालतले तत्काल ल्याउन सम्भव नभए सम्बन्धित देशमै खाना, बस्न र उपचारको व्यवस्था गर्नुपर्ने भनेको छ ।

विदेशमा रहेका नेपालीको भिसा वा राहदानीको म्याद सकिएको कारणले कुनै समस्या भए सम्बन्धीत देशसँग समन्वय गरेर बसाई नियमित गर्न पनि अदालतको आदेश छ ।

यस्तै, अदालतले नेपाल–भारत सीमानामा रहेका नेपाल आउन इच्छुक नेपाली नागरिकलाई पनि नेपाल ल्याएर क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन आदेश दिएको छ ।

नेपाल–भारत सीमानामा दुई हजार १४७ नागरिक अलपत्र रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सम्बोधनमा उल्लेख गरेका थिए ।

सीमानामा अलपत्र परेका नेपालीहरूलाई तत्काल नेपाल फर्काउन सम्भव नभए लकडाउन अवधीसम्मका लागि खाने बस्ने र उपचारको यथोचित व्यवस्था गर्नुपर्ने अदालतको आदेश छ ।

क्वारेन्टाइनमा रहेकाहरूलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार स्वास्थ्य उपचार लगायतको व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ ।