धरान उपमहानगरले डाक्टरसँग माग्यो चन्दा

Newslaya Home

धरान उपमहानगरले डाक्टरसँग माग्यो चन्दा

सोमबार २४, चैत २०७६

धरान । धरान उपमहानगरपालिकाले कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि भन्दै स्वास्थ्यकर्मीबाट तोकेरै तलब राहत माग गरेको छ ।

कोरोना संकटमा पनि नियमित रुपमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई प्रोत्साहन भत्ता दिनुपर्नेमा उपमहानगरपालिकाले तोकेरै तलब मागेको हो । उपमहानगरका मेयर तिलक राईले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई १५ दिनको र डाक्टरलगायत कर्मचारीलाई तोकेरै १० दिनको तलब नगरपालिकाको राहत कोषमा जम्मा गर्न अनुरोध गरेका छन् ।

राईले लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने अति विपन्न परिवारलाई खाद्यान्नलगायतको सहयोग गर्न प्रतिष्ठानका कर्मचारी र चिकित्सकबाट आर्थिक सहयोग माग गरेको बताए ।

कोषमा जनप्रतिनिधिले १५ दिनको पारिश्रमिक जम्मा गरेका छन् ।

नगरपालिकाले चन्दाको शैलिमा संकटमा काम गरिरहेका चिकित्सक र कर्मचारीसँग असुल्न पठाएको पत्रको स्थानीयले चर्को आलोचना गरेका छन् ।