मोरङमा लकडाउन उलंघन रोक्न खोज्दा कांग्रेस नेतामाथि छुरा प्रहार

Newslaya Home

मोरङमा लकडाउन उलंघन रोक्न खोज्दा कांग्रेस नेतामाथि छुरा प्रहार

शनिबार २२, चैत २०७६

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा नेपाली कांग्रेसका स्थानीय नेतामाथि छुरा प्रहार भएको छ ।

शुक्रबार साँझ लकडाउन उलंघन रोक्न खोज्दा कांग्रेसका पूर्व क्षेत्रीय सदस्य ६५ वर्षीय दिलिप तामाङमाथि छुरा प्रहार भएको हो ।

लकडाउनको समयमा सवारी साधन कुदाउने, हिँडडुल गर्ने क्रम बढेपछि नेता तामाङले सडकमा बाँस तेस्र्याएर त्यसलाई रोक्ने प्रयास गरेका थिए ।
उक्त विषयमा मादक पदार्थ सेवन गरेका स्थानीय २८ वर्षीय विजय लिम्बूसँग उनको विवाद भएपछि लिम्बूले विवादकै क्रममा छुरा प्रहार गरेर तामाङलाई घाइते बनाएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए ।

बायाँ छात्तीमा गहिरो चोट लागेर घाइते भएका तामाङको विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

छुरा प्रहार गरि भाग्दै गरेको अवस्थामा लिम्बूलाई पक्राउ गरेर घटनाका बारेमा अनुसन्धान थालिएको डीएसपी गिरीले जानकारी दिए ।