कपिलवस्तुमा भिषण आगलागी, ३९ घरगोठ जलेर नष्ट

Newslaya Home

कपिलवस्तुमा भिषण आगलागी, ३९ घरगोठ जलेर नष्ट

शुक्रबार २१, चैत २०७६

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका–१ गुगौली गाउँमा भिषण आगलागी हुँदा ३९ घरगोठ जलेर खरानी भएको छ । शुक्रबार करिब अपराहन्न ४ बजेतिर आगलागी भएको हो । स्थानीय काशीराम यादवको घरबाट आगो लागेको प्रहरीले जनाएको छ ।

यादवको घरमा खाजा बनाउन लाग्दा चुलोबाट हावा चलेपछि फुसको घरबाट आगोलागी फैलिएको जनाइएको छ । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा र नगद गरी एक करोड भन्दा बढीको क्षति भएको प्रहरीले अनुमान गरेको छ । क्षतीको विवरण संकलन गरी आवश्यक सहयोग र सहयोगी निकायमा समन्वय गर्ने वडा नं १ का अध्यक्ष इन्दर थारुले बताए ।

आगलागीबाट मानवीय तथा चौपाया क्षति भने नभएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिए । आगोलागी भएपछि तौलिहवाबाट आगो निभाउन गएको दमकल पुग्दा गाउँ नै सखाप परेको थियो ।

क्षतिको थप विवरण संकलन भैरहेको प्रहरीले जनाएको छ ।