कविताः अप्रिल फूल

Newslaya Home

कविताः अप्रिल फूल

—नगेन्द्र सुबेदी
बिहीबार २०, चैत २०७६

पोहोरपरार उसलाई
नियतिले नराम्रो ठग्यो
उसले समयलाई साथी बनायो
र भत्काइदियो चोटका पर्खालहरु

परार साल उसलाई
समयका सिर्कनाहरुले
नराम्रोसङ्ग चुटे पछाडिबाट
उसले हरेक सुम्लाहारुमा
देख्यो आफ्नो जिन्दगी
र हिडिरह्यो समयको चालसङ्गै
आफ्नो जिन्दगी भेट्टाउन

पोहोर साल उसलाई
निक्कै छल्न खोज्यो जिन्दगीले
सपनाका बर्को ओढेका जिम्मेवारीहरु
आमा बने उसका लागि
र जन्माइदिए आत्मविश्वासका
विशाल पहाडहरु

यसपाली पनि
अप्रिल फूलका
एक दुषित हुलहरु
आएका छन् ।
उसको आत्मविश्वासका पहाडहरु ढाल्न
चोटका विशाल घनहरु बोकेर
तर उसलाई थाह छ
पिटेपछी नै
फलाम हतियार बन्छ
पिटेपछी नै
ढुङ्गा मुर्ती बन्छ
पिटेपछी नै
सुन गहना बन्छ ।

कविः नगेन्द्र सुबेदी
केराबारी, मोरङ