कक्षा १०, ११ र १२ को परीक्षासम्बन्धी सूचना ‘फेक’

Newslaya Home

कक्षा १०, ११ र १२ को परीक्षासम्बन्धी सूचना ‘फेक’

बिहीबार २०, चैत २०७६

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको नामबाट सामाजिक सञ्जालमा आएको ‘फेक’ सूचनाले विद्यार्थीहरुलाई तनाव भएको छ । सो सूचनामा कक्षा १० को स्थगित भएको परीक्षा वैशाख २१ गतेदेखि हुने र कक्षा ११ र १२ को परीक्षा निर्धारित मितिमै हुने उल्लेख गरिएको छ ।

तर राष्ट्रिय परीक्षा बोर्डले यसबारे कुनैपनि निर्णय नभएको भन्दै भ्रममा नपर्न आमविद्यार्थी तथा अभिभावकलाई अनुरोध गरेको छ ।

बोर्डका अध्यक्ष डा चन्द्रमणि पौडेलले कोरोना भाइरसको संक्रमणको जोखिमका कारण बोर्डको बैठक नै बस्न नसकेको भन्दै परीक्षाबारे कुनै निर्णय नभएको बताए ।

आफूले पनि फेक सूचनाबारे जानकारी पाएको भन्दै उनले अफबाह फैलाउनेलाई कारबाहीको दायरामा ल्याउन प्रहरीमा उजुरी दिनका लागि सदस्यसचिव दुर्गाप्रसाद अर्याललाई निर्देशन दिइसकेको बताए ।

अप्रिल फुल मनाउन कसैले यस्तो अफबाहपूर्ण सूचना बनाएको हुनसक्ने भन्दै उनले जसले जुन नियतले गरेको भएपनि त्यो दण्डनीय हुने बताए ।

उनले लकडाउन र कोरोनाको त्रास कति समय लम्बेला भन्नेमै अन्योलता रहेको अवस्थामा अहिले नै परीक्षा तालिकाबारे निर्णय लिन नसकिने बताए ।

उनका अनुसार कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेदेखि र कक्षा ११ को परीक्षा बैशाख २१ देखि तय भएको छ । तर कोरोनाको कारण त्यो समयमा परीक्षा हुने/नहुनेमै अन्योल रहेको भन्दै अवस्था सहज भएपछि बोर्ड बैठक बसेर आवश्यक निर्णय लिइने उनले बताए ।

1 प्रतिकृयाहरू प्राप्त
  • Ajaychaudharyलेख्नुहुन्छ
  • |
  • बिहीबार २०, चैत २०७६
12 ko exam kahila Hunxa sir....