कोरोना संक्रमण फैलाउने भारतको धार्मिक कार्यक्रममा सहभागी नेपालीहरु चोरबाटोबाट सुनसरी पसे

Newslaya Home

कोरोना संक्रमण फैलाउने भारतको धार्मिक कार्यक्रममा सहभागी नेपालीहरु चोरबाटोबाट सुनसरी पसे

बुधबार १९, चैत २०७६

इटहरी । भारतको दिल्ली निजामुद्दिनमा भएको “तबलिगी ए जमात“ कार्यक्रममा सहभागी भई फर्केका नेपालीहरु सुनसरीमा प्रवेश गरेका छन् ।

सोमबार राती दर्जन बढी मानिसहरु सुनसरीको कप्तानगञ्ज सिमानाकाबाट नेपाल प्रवेश गरि इनरुवा बजार हुदै इनरुवा ४ स्थित रेडक्रस आधारभुत विद्यालय छेउको सुनसरी खोलामा रहेको झोलुङ्गे पुलबाट भोक्राहातर्फ लागेको स्थानीयले बताएका छन् ।

कोरोना फैलाउन भूमिका खेलेको एक धार्मिकसभामा १९ जना नेपाली पनि सहभागी भएको तथ्याङ्क भारत सरकारले दिएपनि नेपालबाट अझै धेरै संख्यामा सहभागि हुनसक्ने अनुमान गरिएको छ । सुनसरीमा सोमबार राती आएको समुहमा पनि सोही सभामा सहभागिहरुसमेत रहेको बताइएको छ । नेपाल मुस्लीम संघ प्रदेश एकका संयोजक हाजी इसराइल मन्सुरीले विभिन्न मस्जिदहरुसँग सम्पर्क गरेर ती व्यक्तिको खोजि गर्ने काम भइरहेको बताए ।

उक्त कार्यक्रममा सहभागि भएको बताउने तीन जना सुनसरी र तीन जना सप्तरीमा भेटिएका छन् । सप्तरीमा भेटिएकाहरु क्वारेन्टाइनमा छन् । सुनसरीमा आएकाहरु भने गत फागुन २८ गते नै आएको र १४ दिन कटिसकेको र बिरामी पनि नभएकोले समस्या नभएको सुनसरी प्रहरी प्रमुख यज्ञविनोद पोख्रेलले जानकारी दिए ।

विभिन्न देशका मानिसहरु सहित करिब आठ हजारको सहभागितामा नयाँदिल्ली स्थित निजामुद्दीनमा मुस्लिम संस्था तबलीगी जमातको हेडक्वाटरमा १ देखि १५ मार्चसम्म यो धार्मिक सभा भएको थियो । यो सभामा सहभागिमध्ये १० जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

यस्तै चार दिनअघि लुकिछिपी नेपाल प्रवेश गरेका भोक्राहा नर्सिङ गाउँपालिकाका ६ जनालाई सप्तरीको क्वारेन्टाइनमा राखिएको नेपाल मुस्लीम संघ प्रदेश एकका संयोजक हाजी इसराइल मन्सुरीले बताएका छन् ।

भोक्राहा नरसिह ८ का सुलेमान मियाँ, सलमान मियाँ, भोक्रहा नरसिह ५ का असलम मियाँ, मोहमद समिम मियाँ, र मोहमद हाफिज मियाँ भोक्रहा नरसिह ६ का इद्रीस मियाँलाई सप्तरीको बोदे बर्साइनमा रहेका क्वारेन्टाइनमा राखिएको संयोजक मन्सुरीले बताए ।