अमेरिकामा कोरोना संक्रमित सबैभन्दा बढी, एकैदिन १७ हजार संक्रमित

Newslaya Home

अमेरिकामा कोरोना संक्रमित सबैभन्दा बढी, एकैदिन १७ हजार संक्रमित

शुक्रबार १४, चैत २०७६

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटेरी गर्दा अमेरिकामा कोरोना भाइरसका संक्रमितहरु सबैभन्दा धेरै भएका छन् ।

अमेरिकामा संक्रमितको संख्या ८५ हजार २८० पुगेको छ । चीनको वुहानबाट डिसेम्बर अन्त्यदेखि फैलिन थालेको उक्त भाइरसबाट चीनमा ८१ हजार ३४० जनामात्र संक्रमित भएकामा अमेरिकाले उछिनेको हो ।

ट्रम्पले भन्दै आएको ‘चाइना कोरोना’ बारे उनी गम्भीर नबनेपछि यो स्थिति आएको भन्दै उनको चर्को आलोचना भएको छ ।

बिहीबार एकै दिन अमेरिकामा १७ हजार ६९ नयाँ संक्रमित थपिएका छन् । त्यतिमात्र हैन मृतकको संख्या पनि १२ सय ९३ पुगेको छ । जसमा २६६ नयाँ मृतक हुन् ।

ट्रम्पले अमेरिकालाई लकडाउन गर्न नमानेकै कारणले गर्दा संक्रमण फैलिएको दावी गरिएको छ ।

चीनले अमेरिकामा लकडाउन गर्न ट्रम्पलाई सुझाव दिएको थियो ।

इटालीमा सबैभन्दा बढीको ज्यान गएको छ । बिहीबार ७१२ नयाँ मृतकसहित मृतकको संख्या ८ हजार २१५ पुगेको छ । ८० हजार ५८९ संक्रमित छन् । बिहीबार ६ हजार २०३ नयाँ संक्रमित थपिएका हुन् ।

स्पेनमा मृतकको संख्या ४ हजार ३६५ पुगेको छ भने ५७ हजार ७८६ संक्रमित रहेका छन् ।

१९९ देशमा फैलिइसकेको उक्त कोरोना भाइरसका संक्रमितको संख्या ५ लाख ३१ हजार ६९७ पुगेको छ । २४ हजार ७० को मृत्यु भएको छ भने १ लाख २३ हजार ९८० लाई निको भएको छ ।

मृत्युको मुखमा पुगेका संक्रमितको संख्या १९ हजार ३५७ रहेको छ ।