महावीर पुनले नेपालमै पीपीई बनाउँदै

Newslaya Home

महावीर पुनले नेपालमै पीपीई बनाउँदै

बिहीबार १३, चैत २०७६

काठमाडौँ । नेपालमा पनि कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिम देखा परेपछि महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले पर्सनल प्रोटेक्टिभ इक्वीप्मेन्ट (पीपीई) बनाउने भएको छ ।

चैत्र ११ गते शिक्षण अस्पताल महाराजगञ्ज र विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट पीपीई बनाइदिन राष्ट्रिय आविष्कार केन्द्रका संयोजक पुनलाई आग्रह गरेका थिए । पुनले सोही दिनबाट काम सुरु गरे ।

बुधबार पीपीईको पहिलो चरणको नमुना तयार भयो । तयार परिएको नमुनाको परीक्षण नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइरालको टोलीले गर्‍यो । डा कोइराला पछिल्लो समय सरकारले गठन गरेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका सदस्य समेत हुन् ।

पीपीईको परीक्षणपछि मापदण्ड अनुरुप नै भएको भन्दै नेपाल मेडिकल काउन्सिलले पुनलाई पीपीई बनाउन स्वीकृति दियो ।

काउन्सिलले स्वीकृत दिएसँगै बिहीबारबाटै पीपीई सिलाउने काम सुरु गरिएको पुनले बताए । उनले भने,‘हामी दुई ठाउँबाट काम गरिहेका छौँ, एउटा चप्पल कारखाना र अर्को पेप्सीकोलाबाटm। यसका लागि हामीले १५ सय मिटर जस्तो मेटेरिइल पाएका छौँ । जुन आजैबाट बनाउन सुरु गरिएको छ ।’

गार्मेन्ट कम्पनी तयार गरेपनि कालीगढ नपाउने समस्या भइरहेको उनले बताए ।

आविष्कार केन्द्रले पीपीई बनाउनका लागि चाहिने वाटर र एयर प्रुफ मेटेरियल (कपडा), इलास्टिक र चेनको जोहो गरे पनि पीपीई बनाउनका लागि चाहिने आवश्यक सामाग्रीको अभाव हुने पुनको भनाइ छ ।

उनले भने, ‘हाम्रा लागि मुख्य समस्या भनेकै पीपीईका लागि आवश्यक सामान जुटाउनु हो । जुन पाउन मुस्किल छ । तर पनि हामीले सक्दो ठाउँमा सम्पर्क गरेर समाग्री जुटाउने कोशिस गरिरहेका छौँ ।’

पीपीईको प्रयोग बिना कोरोना संक्रमितको उपचार गर्दा चिकित्सक र स्वास्थ्यकर्मीहरु समेत संक्रमणको जोखिममा पर्न सक्छन् । उनीहरुले उपचारका क्रममा टाउकोदेखि खुट्टासम्म छोपिने गरी मास्क, गाउन, फेस सिल्ड, जुत्ता लगाउनु पर्दछ ।

सरकारसँग पछिल्लो समय करिब साढे ३ सय पीपीई छ । तर नेपाललाई करिब १ लाख थान पीपीई सामाग्री आवश्यक छ ।