कोरोनाबाट इटालीमा ३७ चिकित्सकको मृत्यु, ७० हजार बढी संक्रमित

Newslaya Home

कोरोनाबाट इटालीमा ३७ चिकित्सकको मृत्यु, ७० हजार बढी संक्रमित

बिहीबार १३, चैत २०७६

रोम । युरोपको कोरोना इपिसेन्टर भनिएको इटालीमा कोरोना संक्रमितको संख्या तीव्र रुपमा वृद्धि भइरहेको छ भने मृत्यु हुनेको दर पनि बढिरहेको छ । हालसम्म इटालीमा ३७ जना चिकित्सकको मृत्यु भएको इटालीयन संघीय मेडिकल प्रोफेसनल्सले बिहीबार सार्वजनिक गरेको छ ।

इटालीमा सात हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ भने संक्रमितको संख्या ७० हजारभन्दा बढी पुगेको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

इटालीमा बुधबार संक्रमण फैलिनबाट रोक्न नयाँ प्रतिबन्धात्मक नियम घोषणा गरेको थियो । जसअन्तर्गत कुनै कोरोना संक्रमण भएको व्यक्ति घर बाहिर निस्किए एकदेखि पाँच वर्षको जेल सजाय तोकिएको थियो ।

सरकारले तोकिएको क्‍वारेन्टाइनको नियम उल्लंघन गर्नेलाई पनि जरिवाना तोकिएको थियो ।

चीनले इटालीको सहायताका लागि तीन टोलीसहित मेडिकल उपकरणहरु त्यसतर्फ पठाएको छ । तर, कोरोना संक्रमण नियन्त्रणमा हुन सकेको छैन ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बुधबार मानवता नै संकटमा परेको चेतावनी दिएका थिए ।