आज लकडाउनको तेस्रो दिन, थप कडाइ गरिँदै

Newslaya Home

आज लकडाउनको तेस्रो दिन, थप कडाइ गरिँदै

बिहीबार १३, चैत २०७६

कठमाडौं । कोरोना भाइरसको सम्भावित जोखिमबाट जोगाउन सरकारले घोषणा गरेको लकडाउनको तेस्रो दिन बिहानैदेखि सडक सुनसान छन् । काठमाडौं उपत्यकाका चोक चोकमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

पहिलो र दोस्रो दिन भन्दा आज थप कडाइका साथ प्रस्तुत हुने सुरक्षाकर्मीको तयारी छ । लकडाउनको पहिलो दिन ६८ जना पक्राउ परेका थिए भने दोस्रो दिन सय भन्दा धेरै पक्राउ परेका छन् ।

नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै जान थालेपछि सरकारले थप कडाइका साथ लकडाउन कार्यान्वयनको रणनीति बनाएको छ । त्यसका लागि देशका केही ठाउँमा जनपथ, सशस्त्र प्रहरीसँगै नेपाली सेनाको टोली पनि परिचालित गरिएको छ ।

दोस्रो दिन बुधबार केही ठाउँमा सुरक्षाकर्मीले बल प्रयोग गर्नु परेको थियो भने केही ठाउँमा युवाहरुलाई उठबस गराएर छाडिएको थियो । नेपाल प्रहरीले लकडाउनलाई थप कडाइका साथ लागू गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।