विराटनगरमा पनि डिस इन्फेक्सन स्प्रे छर्न सुरु

Newslaya Home

विराटनगरमा पनि डिस इन्फेक्सन स्प्रे छर्न सुरु

बिहीबार १३, चैत २०७६

मोरङ । विराटनगर महानगरपालिकाले डिस इन्फेक्सन औषधि छर्न सुरु गरेको छ ।

महानगरपालिकाले पहिलोचरणमा वडा नम्बर १९ मा अवस्थित स्वास्थ्य उपचार केन्द्र, कोशी अस्पताल र महानगर भवनमा स्प्रे गरेर अभियान सुरु गरेको मेयर भीम पराजुलीले जानकारी दिएका छन् ।

कोरोना भाइरस (कोविड–१९) प्रति सतर्कता तथा अन्य रोग नियन्त्रणका लागि सोडियम हाइपो क्लोराइडसहितको स्प्रे गरिएको मेयर पराजुलीले बताए । यसका लागि महानगरकै निगरानीमा स्प्रे बनाएको र आवश्यक्ता अनुसार जनशक्तिसहित नगरको स्वास्थ्य सुरक्षामा खटिने मेयर पराजुलीले जानकारी दिए ।

स्प्रे विश्व स्वास्थ्य संगठन डब्लुएचओ को मापदण्ड अनुसार बनाइएको महानगरले जनाएको छ । महानगर जनस्वास्थ्यका प्रमुख रमेशकुमार कार्कीका अनुसार कम्तीमा १० देखि १२ घण्टासम्म स्प्रेले काम गर्ने र स्प्रेले भाइरसको कार्यक्षमता रोक्ने र भाइरसलाई मार्नेछ ।

स्प्रे अभियानमा कोशी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा संगिता मिश्र, डा लक्ष्मीनारायण यादव, महानगर स्वास्थ्य महाशाखाका कार्यक्रम संयोजक हैदर अली लगायतको उपस्थिती रहेको थियो ।