धनकुटामा बस्दै आएका चार चिनियाँ नागरिकसहित १३ जना क्‍वारेन्टाइनमा

Newslaya Home

धनकुटामा बस्दै आएका चार चिनियाँ नागरिकसहित १३ जना क्‍वारेन्टाइनमा

बुधबार १२, चैत २०७६

धनकुटा । कोरोना भाइरस (कोभिड–१९) विश्वभर फैलिएको बेला धनकुटामा रहेका चार जना चिनियाँ नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ ।

तमोर बहुउद्देश्यीय जलाशयमा सम्भाव्यता अध्ययन गर्न तीन महिना अघि नेपाल आएर केही दिन यता धनकुटा नगरपालिका–९ मुलघाटमा रहेको रिभर साइड रिसोर्टमा बस्दै आएका उनीहरुलाई रिसोर्टमा क्वारेन्टाइन निर्माण गरेर राखिएको प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपीसुदर्शन प्रसाद कोइरालाले बताए ।

उनीहरुको जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको र चिकित्सकको निगरानीमा राखिएको छ । यस्तै उनीहरुमा कोभिड–१९ को संक्रमणको लक्षण देखिए तुरुन्त अस्पताल भर्ना गरेर स्वाब परीक्षण गरी उपचार गर्ने व्यवस्था मिलाइने धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीले जानकारी दिए ।

त्यस्तै वैदेशिक रोजगारीबाट फर्किएका ९ जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ । पाख्रिवास नगरपालिकाका ६ र चौविसे गाउँपालिकाका ३ जना रहेका छन् । उनीहरुलाई स्थानीय स्वास्थ्यकर्मी र प्रहरीको निगरानीमा राखिएको छ ।