नेपालमा तेस्रो व्यक्तिमा कोरोनाभाइरस : खाडीबाट आएका व्यक्तिको उपचार हुँदै

Newslaya Home

नेपालमा तेस्रो व्यक्तिमा कोरोनाभाइरस : खाडीबाट आएका व्यक्तिको उपचार हुँदै

बुधबार १२, चैत २०७६

बीबीसी । नेपालमा थप एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक अधिकारीले पुष्टि गरेका छन्।

योसहित नेपालमा भेटिएका सङ्क्रमितको सङ्ख्या तीन पुगेको छ। तर त्यसमध्ये एक जना निको भइसकेका छन्।

प्रयोगशालामा नमुना परीक्षण गर्दा कोरोनाभाइरस भएको पुष्टि भएपछि ती सङ्क्रमित व्यक्तिलाई उपचारका लागि अरूबाट अलग्ग राखिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका राजेशकुमार गुप्ताका अनुसार ३०-३१ वर्षका ती बिरामी केही दिनअघि एक खाडी मुलुकबाट नेपाल आएका हुन्।

यसअघि दुई जनामा सङ्क्रमण भएको पुष्टि भएको थियो।

तीमध्ये फेब्रुअरी महिनामा वुहानबाट नेपाल फर्किएका एक विद्यार्थी निको भइसकेका छन् भने गत साता फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी एक विद्यार्थीमा केही दिनअघि सङ्क्रमण भएको पुष्टि भएको थियो।

उनको उपचार भइरहेको छ।