दिल्लीमा कार्यरत चार लाख मजदूरलाई केजरीवालले जनही ५००० दिने

Newslaya Home

दिल्लीमा कार्यरत चार लाख मजदूरलाई केजरीवालले जनही ५००० दिने

बुधबार १२, चैत २०७६

काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले त्यहाँ निर्माण कार्यमा संलग्न सबै मजदुरलाई जनही ५००० भारू दिने भएका छन् ।

हिन्दुस्तान टाइम्सका अनुसार कोरोना भाइरसको महामारीका कारण यस समयमा निर्माण कार्य रोकिएका छन् । मजदुरहरूको जीविका चलाउन सहज होस् भनेर ती सबै कामदारलाई पाँच हजार भारू दिइने केजरीवालले बताएका छन् । सबै दैनिक ज्यालादारी मजदुरहरूलाई काम गर्न नपाउँदा निकै गाह्रो हुने अवस्था आउन नदिन उनले सो घोषण गरेका हुन् ।

सोमबारदेखि दिल्लीमा लकडाउन छ, त्यहाँ कर्फ्यूको जस्तै अवस्था आएको छ । भारतभरि नै लकडाउन र प्रतिबन्धहरू बढाइएका छन् ।

केजरीवालले ट्वीटरमार्फत उक्त घोषणा गरेका हुन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘यो कठिन समयमा जब सम्पूर्ण शहर र देश लकडाउनमा छ, हामीले निर्णय गरेका छौं कि हामी दिल्लीका निर्माण कार्यमा रहेका प्रत्येक श्रमिकलाई भारु ५,००० दिनेछौं । ताकि उनीहरूलाई आफ्नो दैनिक गुजारा गर्न सहज होस् ।’

दिल्लीमा भवन र अन्य निर्माण श्रमिक बोर्ड अन्तर्गत दर्ता भएका मजदुरहरुलाई पाँच हजार रुपैयाँ क्षतिपूर्ति दिइने भएको हो । दिल्ली सरकारका एक वरिष्ठ अधिकारीले भनेका छन्, ‘दिल्ली बीओसीडब्ल्यू अन्तर्गत करिब ४ लाख मजदूर दर्ता भएका छन् ।’ सो रकम प्रमाणीकरणपछि सीधै उनीहरूको खातामा हालिदिने बताइएको छ ।