नियतवश रोग फैलाउनेलाई १० वर्षसम्म कैद

Newslaya Home

नियतवश रोग फैलाउनेलाई १० वर्षसम्म कैद

बुधबार १२, चैत २०७६

काठमाडौं । नियतवश संक्रामक रोग फैलाउनेलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ । मुलुकी अपराध संहितामा कसैले पनि आफूलाई सरुवा र संक्रामक रोग लागेको थाहा पाउँदापाउँदै नियतवश अरुलाई सारेमा, लापरबाही र हेलचेक्र्याइँ गरेमा यस्तो कैद र जरिवाना हुने व्यवस्था छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अर्थात् कुनै पनि सरुवा रोग जानीजानी फैलाउनेलाई पनि १० वर्षसम्म कैदसहित जरिवाना हुनेछ । अपराध संहिताले रोग लागेका व्यक्तिले लापरबाही र हेलचेक्र्याइँ गरेमा ३ वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना तोकेको छ । संहिताको दफा १०४ मा संक्रामक रोग फैलाउन नहुने व्यवस्थाअन्तर्गत कसैले कसैको ज्यानलाई खतरा पुर्याउन सक्ने कुनै किसिमको संक्रामक रोग फैलाउने, फैलिन सक्नेगरी काम गर्न नहुने उल्लेख छ ।

अपराध संहिताको दफा १०६ मा सरुवा रोगसम्बन्धी कानुनको उल्लंघन गर्न नहुने व्यवस्था छ । नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले वा कानुनबमोजिम अधिकार प्राप्त अधिकारीले सरुवा रोग सम्बन्धमा जारी गरेको नियम, निर्देशन उल्लंघन गर्न नहुने कानुनी व्यवस्था छ । सरकारले जारी गरेको नियम, आदेश उल्लंघन गरेमा ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना हुनेछ ।