ओखलढुंगामा सवारी दुर्घटना हुँदा तीन जना घाइते

Newslaya Home

ओखलढुंगामा सवारी दुर्घटना हुँदा तीन जना घाइते

मङ्गलबार ११, चैत २०७६

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण राजमार्ग अन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका–५ जेरुङ गाउँमा सवारी दुर्घटना भएको छ ।

मंगलबार लकडाउन अवज्ञा गरेर चलाइएको मोटरसाइकल र ट्याक्टर आपसमा ठोकिएर दुर्घटना भएको हो ।
तीन जना बोकेर तीब्र गतिमा मानेभञ्ज्याङबाट हर्कपुर जाँदै गरेको बा ६३ प ९३५५ नम्बरको मोटरसाइकल र हर्कपुरबाट मानेभञ्ज्याङतर्फ आउँदै गरेको ना ६ त ७३६० नम्बरको ट्याक्टर एक आपसमा ठोक्‍किँदा तीन जना घाइते भएका छन् ।

उक्त दुर्घटनामा परी स्थानीय पवित्रा राई, सुजन राई र सनम राई घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुमध्ये पवित्रा राई अचेत अवस्थामा रहेकाले उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल पठाइएको र अन्यको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको बताइएको छ ।

लकडाउनको समय सुरक्षित रहनुपर्ने बेलामा प्रहरीको आँखा छलेर खाली सडकमा सवारी कुदाउँदा दुर्घटना भएको र ट्याक्टर चालकलाई पक्राउ गरिएको डिएसपी रुपेश खड्काले जानकारी दिए ।