नेपाल-भारतीय सीमा तनाव : जबर्जस्ति नेपाल प्रवेश गर्दै भारत बस्ने नेपाली

Newslaya Home

नेपाल-भारतीय सीमा तनाव : जबर्जस्ति नेपाल प्रवेश गर्दै भारत बस्ने नेपाली

मङ्गलबार ११, चैत २०७६

काठमाडौं । भारतबाट नेपाल आउन लागेका नेपाली र सीमाका सुरक्षाकर्मीबीच विभिन्न सीमानाकामा झडपको अवस्था सिर्जना भएको छ । नेपाल लकडाउन भएपछि सुरक्षाकर्मीले भारतबाट आउनेहरुलाई रोकेको छ ।

सीमामा आइपुगिसकेका नेपालीहरु अलपत्र परेपछि देश भित्रिने प्रयास गरिरहेका छन् । हुल बाँधेर नेपाल प्रवेश गर्न खोज्दा कतिपय नाकामा सुरक्षाकर्मी र नेपाल भित्रिन चाहनेहरुबीच झडप समेत भएको छ ।

सुदूरपश्चिमको सीमानाका गौरीफन्डामा बिहानैदेखि झडपको अवस्था सिर्जना भएको स्थानीयहरुले जनाएका छन् । बलपूर्वक नेपाल प्रवेश गर्न खोज्दा प्रहरीले लाठीचार्ज समेत गर्नुपरेको एक प्रत्यक्षदर्शीले बताए ।

कोरोनाको सन्त्रासबाट भारतले लकडाउन थालेपछि नेपालीहरु घर फर्किन थालेका हुन् । सयौंको संख्यामा नेपाली नागरिक सीमामा रोकिएका छन् ।
मंगलबारदेखि नेपालमा समेत लकडाउन भएपछि उनीहरु अलपत्र परेका हुन् । भारतमा तीव्र गतिमा कोरोना भाइरस फैलिएपछि नेपालले सीमा समेत बन्द गरेको छ।