भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुग्यो, एकै दिन १०३ नयाँ संक्रमीत

Newslaya Home

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुग्यो, एकै दिन १०३ नयाँ संक्रमीत

मङ्गलबार ११, चैत २०७६

काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । भारतमा कुल संक्रमितको संख्या ४९९ पुगेको छ । जसमा पछिल्लो २४ घण्टामै १०३ नयाँ संक्रमित फेला परेका छन् भने ३ जनाको मृत्यु भएको हो ।

भारतमा जनवरी ३० मा पहिलो पटक त्यहाँको केरला राज्यमा कोरोना संक्रमित भेटिएका थिए । त्यसयता भारतका विभिन्न राज्यमा यो भाइरस फैलिसकेको छ ।

वल्र्डो मिटर्स डट कमका अनुसार भारतमा अहिलेसम्म ३४ जना संक्रमित निको भइसकेका छन् । पछिल्लो तीन दिनमा मात्रै अढाई सय नयाँ केसहरु सतहमा आएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाइरहेका छन् । अहिलेसम्म भारतमा कोरोना संक्रमित देखिएका मध्ये ४० जना भने विदेशी रहेको देखिन्छ भने अन्य अधिकांश केस पनि बाहिरबाटै आउनेमा देखिएको छ ।

सोमबार पहिलोपटक पश्चिम बंगालमा र हिमाचल प्रदेशमा एक÷एक जनाको मृत्यु भएको हो । आइतबार बिहारमा एकको मृत्यु भएको थियो । नेपालसँग सीमा जोडिएको हुनाले समेत सीमावर्ती राज्यमा संक्रमण बढ्नु भनेको नेपालका लागि समेत खतरा हो ।

भारतको केरलामा थप २८ जना र महाराष्ट्रमा २३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यसैगरी गुजरातमा थप १२ केस देखिएको जनाइएको छ । भारतभरि तीब्र रुपमा फैलँदै गएपछि अहिले त्यहाँका ५४८ जिल्लामा लकडाउन गरिसकेको आजतकले लेखेको छ । त्यहाँका ३० राज्य र केन्द्रशासित प्रदेशमा पूरै लकडाउन छ भने रेल, बस, हावाई सेवा पनि ठप्प छन् ।