कोरोना त्रास : ला लिगासहित स्पानिस फुटबल अनिश्चितकालका लागि बन्द

Newslaya Home

कोरोना त्रास : ला लिगासहित स्पानिस फुटबल अनिश्चितकालका लागि बन्द

सोमबार १०, चैत २०७६

काठमाडौं । विश्वभर फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्पेनको सबै खाले फुटबल अनिश्चितकालको लागि स्थगित भएको छ ।

यसअघि मार्च १२ मा स्पानिस ला लिगा दुई साताको लागि स्थगित गरिएको थियो । तर अहिले बढ्दै गरेको संक्रमणको कारण स्पेनको सबै खाले फुटबल गतिविधि अनिश्चितकालका लागि बन्द गरिएको हो ।

स्पानिस फुटबल संघ र ला लिगाले निर्माण गरेको मोनिटरिङ कमिसनले सोमबार यस्तो निर्णय गरेका हुन् । ला लिगामा पछिल्लो पटक मार्च ६ देखि ८ सम्म म्याचविक २७ का खेलहरु भएका थिए । त्यसपछि दुई साताका लागि खेलहरु स्थगित गरियो । जसमा म्याचविक २८ र २९ अन्तर्गतका खेलहरु थिए ।

अब अर्को निर्णय नभएसम्मको लागि स्पेनमा फुटबल सुरु नहुने भएको छ ।