कोरोना त्रासः धनुषाका १२ जना कैदी रिहा

Newslaya Home

कोरोना त्रासः धनुषाका १२ जना कैदी रिहा

सोमबार १०, चैत २०७६

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाले १२ जना कैदीलाई रिहा गरेको छ । कारोना भाईरस संक्रमणको जोखिमलाई नियन्त्रण गर्ने उद्धेश्यले कैदी रिहा गरिएको हो ।

धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीकाअनुसार सामान्य प्रकृतिका १२ कैदीलाई रिहा गरिएको हो । उनले सार्वजनिक मुद्दा, अभद्र व्यवहार, लागु औषध लगायत सामान्य प्रकृतिका घटनामा संलग्न भई हिरासतमा रहेका कैदीहरुलाई छाडिएको बताए ।

कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न सामान्य प्रकृतिको अपराधमा संलग्न थुनुवालाई घर पठाएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा हाल बिभिन्न प्रकृतिका मुद्दाका ६० जना कैदी बन्दीहरु हिरासतमा रहेका छन् ।

गत बिहीबार संघीय संसदको कानून, न्याय तथा मानव अधिकार समितिले कारागारमा रहेका कैदी बन्दीको संख्या घटाउन निर्देशन दिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले गम्भीर प्रकृतिको मुद्दा बाहेकका कैदी बन्दीहरुलाई हिरासत मुक्त गरेको हो।