कोरोनाभाइरस : महामारी नियन्त्रण गर्न जर्मनीमा नयाँ नियम, चान्सलर एङ्गेला मर्कल पनि क्वारन्टीनमा

Newslaya Home

कोरोनाभाइरस : महामारी नियन्त्रण गर्न जर्मनीमा नयाँ नियम, चान्सलर एङ्गेला मर्कल पनि क्वारन्टीनमा

सोमबार १०, चैत २०७६

बिबिसि । कोरोनाभाइरस महामारी फैलिन नदिने उद्देश्यले जर्मनीले घर तथा कार्यालयबाहेक अन्यत्र दुई जनाभन्दा धेरै जम्मा हुन नपाइने नियम लागु गरेको छ।

त्यहाँ चान्सलर एङ्गेला मर्कलको सम्पर्कमा आएका एक चिकित्सकलाई कोरोनाभाइरस सङ्क्रमण भएको पाइएपछि उनी पनि क्वारान्टीन अर्थात् एकान्तवासमा गएको उनका प्रवक्ताले बताएका छन्।

जर्मनीले कोरोनाभाइरस प्रकोप नियन्त्रणका निम्ति सामाजिक अन्तर्क्रियाहरूमा थप रोक लगाउँदै दुई जनाभन्दा धेरैको सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको छ।

टेलिभिजनमा प्रसारित सम्बोधनमा चान्सलर मर्कलले सङ्क्रमणको दर घटाउन आफ्नै व्यवहार सबभन्दा प्रभावकारी माध्यम भएको बताइन्।

उनले घोषणा गरेका नियमहरूअनुसार केशशृङ्गार गृह एवम् ब्यूटी तथा मसाज पार्लर पनि बन्द हुनेछन्।

अन्य अनावश्यक पसलहरू यसअघि नै बन्द गराइएका थिए।

‘नयाँ नियमहरू निकै नै कडा छन्। सार्वजनिक स्थानमा एक अर्काभन्दा डेढ मिटर, अझ दुई मिटरको दूरीमा रहनुपर्ने अनिवार्य गरिएको छ। तपाइँ कार्यालय वा चिकित्सककहाँ जान सक्नुहुन्छ र स्वच्छ हावाका लागि एक्लै बाहिर निस्किन सक्नुहुन्छ। अन्य लगभग सबै सार्वजनिक जमघट प्रतिबन्धित गरिएको छ,’ संवाददाता डेमियन मक्गिनेजले बताए।

एंगेला मर्कलले सम्बोधन गरेको केही समयपछि उनको कार्यालयले उनी स्वयम् क्वारन्टीनमा बस्ने बताएको छ।

शुक्रवार उनलाई न्युमोनियाको खोप दिएका एक चिकित्सकमा कोरानाभाइरस सङ्क्रमण पाइएपछि उनी क्वारन्टीनमा बस्नुपरेको हो।

उनको नियमित जाँच गरिने र उनले घरबाटै काम गर्ने मर्कलका प्रवक्ताले बताए। उनी ६५ वर्षकी छन्।

युरोपको सबभन्दा ठूलो अर्थतन्त्र जर्मनीमा हालसम्म कोरोनाभाइरस सङ्क्रमणका १८,६१० घटना पाइएका छन्। उक्त भाइरसको सङ्क्रमणबाट लाग्ने रोग कोभिड–१९ ले त्यहाँ ५५ जनाको ज्यान गइसकेको छ।