कोरोना भाइरस : विश्वभर मृत्यु हुनेको संख्या १४ हजार, इटालीमा एकै दिन ६५१ जनाको मृत्यु

Newslaya Home

कोरोना भाइरस : विश्वभर मृत्यु हुनेको संख्या १४ हजार, इटालीमा एकै दिन ६५१ जनाको मृत्यु

सोमबार १०, चैत २०७६

काठमाडौं । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ हजार नाघेको छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित इटालीमा एकै दिन ६५१ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार ६ सय १३ पुगेको हो ।

इटालीमा अहिलेसम्म ५ हजार ४ सय ७६ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ५९ हजार १ सय ३८ पुगेको छ । २४ घण्टा अवधिमा संक्रमण दर वृद्धिका हिसाबले भने अमेरिका अगाडि रहेको छ। अमेरिकामा एकैदिन ८ हजार ५ सय ७६ नयाँ संक्रमित देखिएका हुन् । अमेरिकामा हालसम्म ४ सय १६ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ३२ हजार ७ सय ८३ पुगेको छ ।

कोरोना उत्पत्तिस्थल मानिएको चीनमा भने ४ दिनयता नयाँ संक्रमण देखिएको छैन भने मृत्यु पनि छैन । चीनमा कूल ८१ हजार ५४ जनामा संक्रमण देखिएको हो । तीमध्ये ७२ हजार ४ सय ४० जना निको भएका छन् भने ५ हजारभन्दा बढीको उपचार भइरहेको छ ।

कोरोनाबाट प्रभावित चौथो मुलुक स्पेनमा १ हजार ७ सय ५६ जनाको मृत्यु भएको । त्यहाँ २८ हजार ६ सय ३ जनामा संक्रमण देखिएको छ । यस्तै जर्मनीमा ९४, इरानमा १ हजार ६ सय ८५, फ्रान्समा ६ सय ७४, दक्षिण कोरियामा १ सय ४ जनाको मृत्यु भएको छ ।