बिपी प्रतिष्ठान धरानमा पनि कोरोना परीक्षण सेवा सुरु हुने

Newslaya Home

बिपी प्रतिष्ठान धरानमा पनि कोरोना परीक्षण सेवा सुरु हुने

शुक्रबार ०७, चैत २०७६

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९)को परीक्षण दायरालाई बढाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षणको व्यवस्थालाई उपत्यकाबाहिर पनि विस्तार गर्न लागेको हो ।

मन्त्रालयमा शुक्रबार भएको छलफलपछि उपत्यका बाहिर धुलिखेल अस्पताल र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र काठमाडौंमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला सहित वीर अस्पतालमा पनि परीक्षण सेवा सुरु गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिपी प्रतिष्ठान, वीर र धुलिखेल अस्पतालले तीन दिनभित्र सेवा सुरु गरिसक्ने गरी तयारी अगाडि बढाइसकेको जानकारी दिए ।

अहिलेसम्म कोरोना भाइरसको आशंका लागेका मानिसहरुको नमुना परीक्षण टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा मात्र हुँदै आइरहेको छ । हालसम्म प्रयोगशालाले ५ सय ४६ जनाको नमुना परीक्षण गरेको छ ।

अब उक्त प्रयोगशालालाई २० हजार जनाको नमुना परीक्षण गर्नसक्ने गरी तयारी आवस्थामा राख्ने निर्णय भएको छ ।

यसका साथै, कोभिड १९ को शंकास्पद व्यक्तिहरुको परीक्षणको लागि नमूना संकलन गर्ने, अन्य प्रयोगशालामा नमुना पठाउँदा पुर्याउनुपर्ने विधि लगायतका विषयमा समन्वय गर्ने प्रयोजनका लागि सबै अस्पतालहरुले प्रयोगशालासँग सम्बन्धित एक जना व्यक्तिहरुलाई फोकन पर्सनका रुपमा तोकी उनीहरुको नाम, फोन नम्बर लगायतका विवरण तीन दिनभित्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउनुपर्ने निर्णय पनि मन्त्रालयले गरेको छ ।