बुटवलमा कोरोना विशेष अस्पताल निर्माण शुरु

Newslaya Home

बुटवलमा कोरोना विशेष अस्पताल निर्माण शुरु

शुक्रबार ०७, चैत २०७६

बुटवल । बुटवलमा कोरोना भाइरस प्रकोपको पूर्वतयारीका कार्यक्रमलाई प्रभावकारी बनाइएको छ । बुटवल उपमहानगरपालिकाले यहाँका स्वास्थ्यसंस्था, निजी क्षेत्र र सरोकारवालाहरुसंगको सहकार्यमा प्रकोप पूर्वतयारीको कामलाई तीव्रता दिएको छ ।

बुटवलले लुम्बिनी प्रादेशिक अस्पताल र यहाँका निजी तथा सामुदायिक अस्पताल एवम् औषधि व्यवसायीसंगको सहकार्यमा क्वारेन्टाइन र आइसोलेसन कक्ष निर्माणको कामलाई तीव्रता दिइएको छ ।

कोरोना भाइरस संक्रमितको उपचारका लागि बुटवलमा १ सय शैयाको कोरोना विशेष (अस्थायी) अस्पताल निर्माण शुरु भएको छ । अस्पताल शनिबारसम्म सञ्चालन हुने गरी निर्माण थालिएको हो । बुटवल धागो कारखानाको फिनिसिङ ब्लकमा अस्पताल बनाउन थालिएको हो ।

बुटवल उप—महानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा बुटवल उपमहानगरपालिका–१० स्थित बन्द अवस्थामा रहेको धागो कारखानाको भवनमा अस्पताल बनाउन ८० जना काममा खटिएका छन् । नेपाल प्रहरी, नगर प्रहरी, स्थानीय युवाहरु निर्माणमा खटिएका छन् ।

बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी र लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराई, अस्पतालका मेसु डा राजेन्द्र खनाल, बुटवलका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मासहित वडाअध्यक्षहरु, बुटवल उपमहानगरका प्राविधिक, अस्पतालका स्वास्थ्य प्राविधिक, विशेषज्ञहरु शुक्रबार बिहानैदेखि निर्माणस्थलमा खटिएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।

निर्माण स्थलको अनुगमन तथा निरीक्षणका लागि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, प्रदेश प्रहरी प्रमुख नरबहादुर केसीलगायत पुगेका छन् ।

बुटवलमा क्वारेन्टाइनका लागि एक सय कोठा तयार पारिएका छन् भने आइसोलेसनका लागि धागो कारखानामा करिब १०० शैय्याको अस्पताल बनाउने काम शुरु गरिएको नगर प्रमुख सुवेदीले बताए ।

बुटवलमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बिरामी नभेटिए पनि कोरोनासंग मिल्दो जुल्दो लक्षण लिएर दैनिक चार÷पाँच जना बिरामी आउने गरेका छन् । बुटवलमा हाल आइसोलेसनका लागि ३४ शैय्या तयारी अवस्थामा रहेको प्रदेश ५ स्वास्थ्य निर्देशक डा. विनोद गिरी बताउँछन् ।

बुटवलमा आशंकामा भर्ना भएका र परीक्षणका लागि स्वाब संकलन गरेर पठाइएका कसैमा पनि कोरोनाको संक्रमण नपाइएको अस्पतालका फोकल पर्शन डा.सुदर्शन थापाले बताए ।