भारतीय राष्ट्रपतिलाई कोरोनाको आशंका

Newslaya Home

भारतीय राष्ट्रपतिलाई कोरोनाको आशंका

शुक्रबार ०७, चैत २०७६

काठमाडौं । भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई पनि कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ ।

कोविन्दले केही दिनअघि एउटा पार्टी दिएका थिए । यसबारे जानकारी उनी स्वयंले आफ्नो ट्विटरमा सेयर गरेका छन् । त्यो पार्टीमा उनले राजस्थानका सांसदहरु बोलाएका थिए ।

तीमध्ये एक थिए, दुष्यन्त राजे । पूर्वमुख्यमन्त्री वसुन्धरा राजेका छोरा दुष्यन्त यसअघि नै आमासँग सेल्फ आइसोलेसनमा छन् । यी दुईलाई चाहिँ भारतीय गायिका कनिका कपुरले कोरोना भाइरस संक्रमण गराइदिएको हुनसक्ने आशंका छ । कनिकामा कोरोना भाइरस संक्रमण देखिएको छ । उनी केही दिनअघि बेलायतबाट फर्किएकी थिइन् । तर, आइसोलेसनमा नबस्दै उनले एउटा पार्टी दिएकी थिइन् । त्यो पार्टीमा वसुन्धरा र दुष्यन्त पनि सहभागी थिए ।

तिनै दुष्यन्त राष्ट्रपति कार्र्यालय पुगेका थिए, राष्ट्रपतिसँग कुराकानी गरेका थिए, हात मिलाएका थिए । तिनै दुष्यन्तसँग सँगै बसेका सांसद डेरेक ओ ब्रायन पनि अहिले सेल्फ आइसोलेसनमा छन् । यही घटनाक्रमका कारण भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई पनि कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ ।