ट्रयाक्टरको ठक्करबाट एक बालकको मृत्यु

Newslaya Home

ट्रयाक्टरको ठक्करबाट एक बालकको मृत्यु

शुक्रबार ०७, चैत २०७६

महोत्तरी । महोत्तरीको मनरासिस्वा नगरपालिका–८ कटैया गाउँमा ट्रयाक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

गाउँको भित्री सडकमा अत्यधिक तीव्र गतिमा आउँदै गरेको ज १ त ५२४१ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा स्थानीय मसलाद्दीन अन्सारीका छोरा १४ वर्षीय मञ्जर अन्सारीको मृत्यु भएको हो ।

ट्रयाक्टरले पछाडिबाटै अचानक ठक्कर दिँदा गम्भीर घाइते भएका अन्सारीलाई उपचारका लागि स्थानीय स्वास्थ्य क्लिनिकमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

मृत्यु भएका बालक अन्सारीको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइएको छ भने घटनापश्चात ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।