सशस्त्र प्रहरी जवानले गरे ब्यारेक भित्रै आत्महत्या

Newslaya Home

सशस्त्र प्रहरी जवानले गरे ब्यारेक भित्रै आत्महत्या

शुक्रबार ०७, चैत २०७६

सिमरा । बाराको पथलैयास्थित सशस्त्र प्रहरी बल–१७ नम्बर गुल्म राजश्व चुहावट नियन्त्रण कार्यालयमा कार्यरत प्रहरी जवानले आत्महत्या गरेका छन् ।

शुक्रबार बिहान जीतपुरसिमरा उपमहानगरपालिका २ नरबस्ती घर भएका २७ वर्षीय बिमल भण्डारी ब्यारेकभित्र रहेको सुरक्षा पोष्टमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

राती १० बजेसम्म राजमार्गको डिउटीमा खटिएका भण्डारी झुण्डिरहेको अवस्थामा फेला परेपछि प्रहरीलाई जानकारी गराइएको थियो । डिउटी सकेर ब्यारेक पसेका उनी रातीको समयमा झुण्डिएको हुन सक्ने गुल्मपति हरि श्रेष्ठले बताए ।

सात वर्षअघि सशस्त्र प्रहरीको सेवामा प्रवेश गरेका भण्डारीको परिवारले बैशाखमा उनको विवाह गर्ने तयारी समेत थालेको थियो । परीक्षणका लागि वीरगन्ज पठाइएको भण्डारीको शव परीक्षणपछि परिवारको जिम्मा लगाइने ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक (डिएसपी) गोविन्द पुरीले जानकारी दिए ।