कोरोनाको त्रास : कैदीबन्दी रिहा गर्ने अमेरिकाको तयारी

Newslaya Home

कोरोनाको त्रास : कैदीबन्दी रिहा गर्ने अमेरिकाको तयारी

शुक्रबार ०७, चैत २०७६

काठमाडौं । कोरोना भाइरसको संक्रमण जेलमा पनि देखिन थालेपछि अमेरिकाले कैदीहरुलाई रिहा गर्ने तयारी थालेको छ ।

न्युर्योक सिटीले जोखिममा रहेका कैदी–बन्दीलाई रिहा गर्ने तयारी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि लस एन्जलस र क्लेभल्याण्डले सयौँ कैदी बन्दीलाई रिहा गरेका थिए ।

जेल सुधारको पक्षमा वकालत गर्दै आएकाहरुले जेलमा रहेकाहरुमा कोरोना भाइरसको संक्रमण फैलिने र उनीहरुबाट अरुमा सर्ने जोखिम बढी रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

अमेरिकामा अहिलेसम्म १४ हजार २ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । यस्तै कोरोनाका कारण अमेरिकामा हालसम्म २ सय १८ जनाको मृत्यु भएको छ ।

विश्वभर हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ४५ हजार पुगेको छ । यस्तै ज्यान गुमाउनेको संख्या १० हजार ४८ पुगेको छ ।

न्युर्योक सिटीका मेयर बिल डी ब्लासिओले रिहा गरिने कैदी–बन्दीका पहिचान गरी चाँडै नै रिहाको प्रक्रिया थालिने बताएका छन् ।

यसरी रिहा गरिने कैदीमा सामान्य अपराधमा पक्राउ परेका तथा कोरोना संक्रमणको उच्च जोखिम रहेकाहरु हुने जनाइएको छ ।