कोरोनाको गलत प्रचार गरेमा ६ महिना कैद हुने

Newslaya Home

कोरोनाको गलत प्रचार गरेमा ६ महिना कैद हुने

बिहीबार ०६, चैत २०७६

काठमाण्डौं । सरकारले कोरोना भाइरसको गलत प्रचार गर्नेलाई कारबाही गर्ने भएको छ ।

बिहीबार मन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले कोरोनाको झुटो प्रचार गर्ने र अफवाह फैलाउनेलाई कडा कारवाही गर्न सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको हो ।

अफवाह फैलाउने र गलत प्रचार गरेमा १ लाख जरिवाना र ६ महिना कैद हुने भएको हो । खुला सीमानाका कारण भारतबाट कोरोनाको संक्रमणको जोखिम उच्च रहेको कारण चेकजाँचमा कडाई गरी नेपालभित्र प्रवेश गर्न नदिने योजनाका साथ अगाडी बढ्ने विषयमा बैठकमा छलफल भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए ।

भारतमा तिव्र गतिमा फैलिरहेको कोरोनाको प्रभाव नेपालमा पनि पर्न सक्ने तर्फ सचेत रहनुपर्ने र सीमा नाकामा हुने चेकजाँचलाई थप कडाई गर्नुपर्ने निष्कर्ष कार्यकारी समितिको बैठकको छ ।

मालपोत कार्यालय, विद्युत प्राधिकरण लगायतका कार्यालयहरुमा सेवाग्राहीको भीड हुने गरेको उल्लेख गर्दै कार्यकारी प्रमुख पोखरेलले पानी, विद्युतको महसुल तिर्ने वा अन्य राजस्व बुझाउने कार्यालयहरुसँग समन्वय गरी यो महिना नतिर्दा लाग्ने जरिमाना मिनाहा गर्ने वातावरण मिलाउने र बसपार्क जस्ता धेरै भीड हुने ठाउँमा सतर्कता अपनाउने विषयमा पनि बैठकमा छलफल भएको बताए ।