मोरङको प्रत्येक नाकामा कडा निगरानी गर्न निर्देशन

Newslaya Home

मोरङको प्रत्येक नाकामा कडा निगरानी गर्न निर्देशन

बिहीबार ०६, चैत २०७६

मोरङ । भारतसँग जोडिएको सबै नाकामा कडा निगरानी गर्न जिल्ला प्रशासन कार्यालय मोरङले निर्देशन दिएको छ ।

कोभिड–१९ को त्राससँगै मोरङको प्रत्येक नाकामा कोरोना जाँच प्रक्रिया कडा गर्ने काम शुरु भएको हो । मोरङको सीमासँग जोडिएको गाउँपालिका र नगरपालिकाका प्रमुख एवं प्रशासकीय अधिकृतलाई सीमा क्षेत्रमा जाँच गर्ने व्यवस्था मिलाउन र सो सम्बन्धमा जनचेतना एवं जागरण हुने सूचना प्रवाह गर्न निर्देशन दिइएको छ ।

नेपाल–भारत ओहोरदोहोर गर्ने सीमावर्ती नाकामा सुरक्षाकर्मीसहितको स्वास्थ्य टोलीबाट कोरोना जाँच शुरु गरेको र कतिपय मानिस जाँच गर्न नमानेर भाग्न खोज्दा पक्रेर जाँच गराइरहेको सशस्त्र प्रहरी उपरीक्षक नेत्रबहादुर कार्कीले बताए ।

कोरोना भाइरसको त्राससँगै बजारमा हुने कालोबजारीतर्फ प्रशासनको विशेष ध्यान गएको र जनतालाई दैनिक आवश्यकपर्ने उपभोग्य सामग्री उपलब्ध गर्न सम्बन्धित कार्यालयलाई अनुगमन गर्न निर्देशन दिएको निमित्त प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए ।

यस्तै बजारमा मास्क, ग्यास, इन्धनको अभाव हुन नदिन सम्बन्धित निकायसँग परामर्श भइरहेको र विराटनगर विमानस्थलमा कोरोना जाँच प्रक्रियालाई कडाइ र व्यवस्थित गर्न कार्यालय प्रमुख टेकनाथ सिटौलालाई निर्देशन दिएका छन् ।