प्रदेश २ को नाम र राजधानीका लागि भएको मतदान व्यर्थ

Newslaya Home

प्रदेश २ को नाम र राजधानीका लागि भएको मतदान व्यर्थ

बुधबार ०५, चैत २०७६

जनकपुरधाम । प्रदेश २ को स्थायी राजधानी र नामाकरणका लागि मंगलबार भएको मतदानबाट छानोट भएका सबै नाम अस्वीकृत भएको छ । मंगलबार भएको निर्वाचनमा प्रदेशका लागि प्रस्तावित चारवटै नाम अस्वीकृत भएको हो । त्यस्तै राजधानीका लागि प्रस्तावित ठाउँ पनि अस्वीकृत भएको हो ।

प्रदेशको नामाकरणको लागि नेकपाले जानकी, कांग्रेसले मिथिला भोजपुरा, सत्तापक्षले मधेश प्रदेश र कांग्रेसका केही बागी सांसदले मध्य मधेश प्रदेश नाम दर्ता गराएका थिए । तर कुनै नाममा दुई तिहाई पुग्न सकेन । जानकी प्रदेशमा ३७, मिथिला भोजपुरामा २८, मध्य मधेश प्रदेशमा ४२ र मधेश प्रदेशमा ६० मत आएको हो ।

त्यस्तै राजधानी समेत टुंगो लागन सकेको छैन । सत्तापक्ष तथा प्रमुखप्रतिपक्षी दल नेकपा र प्रतिपक्षी दल कांग्रेसले दर्ता गराएको प्रस्ताव जनकपुरधामको पक्षमा ५२ मत मात्र आएपछि जनकपुरधाम प्रस्ताव अस्वीकृत भएको हो ।

जनकपुरधामको विपक्षमा पनि ५२ जनाले मतदान गरेका छन् । तीन मत भने बदर भएको हो । निर्वाचन भन्दा पहिले समितिमा राजधानीका लागि सहमति भएपनि प्रदेशको नाम मधेश प्रदेश अस्वीकृत भएपछि सत्तापक्षले नै क्रस भोट गरेको सांसदहरुले आरोप लगाएका छन् ।

त्यस्तै सांसद सिंगासन साह कलवारले दर्ता गराएको राजधानीको प्रस्ताव विरगंज (विनदावासिनी, पोखरीया, सखुअवा, पर्सागढी, जितपुर निजगढ हुँदै सिम्रौनगढ) समेत अस्वीकृत भएको हो । विरगंजको पक्षमा कुल ३७ मत आएको छ भने ६९ जना विपक्षमा मतदान गरेका छन् । यस्तै एक जना अनुपस्थित थिए ।

त्यस्तै सांसद राजेश्वर प्रसादले राजधानीको लागि दर्ता गराएको प्रस्ताव विरगंज महानगरपालिका पनि अस्वीकृत भएको छ । यसको पक्षमा ३३, विपक्षमा ७३ र एकजना अनुपस्थित थिए ।