यो हार टुटलको मात्र हैन, हरेक साना उद्यमीको हो

Newslaya Home

यो हार टुटलको मात्र हैन, हरेक साना उद्यमीको हो

—आयुष कार्की
शनिबार ०१, चैत २०७६

३ बर्ष अगाडि यो सुरु हुँदा मलाई पनि विश्वास थिएन यो सोच नेपालमा काम लाग्छ भनेर तर टुटल मा काम गरेको २ महिना भित्र मेरो सोच्ले कोल्टो फेर्यो । नेपालमा बेरोजगारीको समस्या मैले धेरै नजिक बाट नियाल्ने अवसर पाए र यो विषयमा धेरै संवेदनशिल छु । टुटल सुरु भएको सुरुवाती महिनामै ‘मेन्स रुम रिलेटेड’ ग्रुप बाट ‘राइडर’हरु टुटलमा अवद्ध गर्न थालियो । दारी ग्याङ ग्रुपमा पनि थुप्रै पोष्ट गरेको थिए ।

‘टुटल राइड शेयरिङ्ग’ उद्योगको जग गढ्दै थियो र हामी पनि त्यो इतिहासको पात्र हुँदै छौं । हामीलाई त्यसको अभास थिएन । एउटा एप को भरमा मोटरसाइकल घरको ढोका मै आउने रे, कही यस्तो पनि हुन्छ र ? भनेर हामीमा अविश्वास गर्नेको जमात पनि ठूलो थियो । प्रविधि नयाँ भएकोले बुझाउन एकदमै गाह्रो थियो । ईन्टरनेटको डाटा प्याक को बारेमा पनि आम् नेपालीलाई ज्ञान खासै थिएन, डिजिटल वालेट र मोबाईल बैंकिङ्ग चलाउने कुरा त झन् एउटा सानो गाउँबाट आएको टुटल राइडर लाई एकदम नौलो चिज थियो । तर हामीले बिस्तारै यसको बानी बसायौं । अति विकसित देशहरुले चलाउने प्रविधि हामीले नेपालमै चलाउनको लागि नेपालीलाई प्रेरित गरेका छौं ।

बिस्तारै टुटलले गती लिँदैथ्यो र नयाँ राइडर अवद्ध हुने क्रम पनि बढ्दै थियो । एक दिन एकजना दाई धेरैनै तनावमा हस्याङ फस्याङ् गर्दै हाम्रो कार्यलय आईपुग्नु भयो । उहाँ धेरै चिन्तित हुनुन्थ्यो, छोरा छोरीको फिस तिर्ने पनि पैसा थिएन रहेछ । काम गर्न सिकेर त्यो महिना उहाँले धेरै मेहेनत गरेर काम गर्नुभयो । महिनाको अन्तिममा मलाई उहाँले कल गर्नु भयो र भन्नु भयो “धेरै पछी खसीको मासु लिएर आको छु बाबु, मेरो परिवार सँग बसेर खाना खानु हुन्छ ?” म खुशी ले गद्गद् भएँ र उहाँको प्रस्ताव स्विकार गर्दै उहाँको भाडाको कोठामा पुगें । उहाँको साना साना नानीसँग पत्रिका ओछाएर खाना खादा मैले मेरो आँखा बाट आसुँ रोक्न सकिन । त्यो खुशीको आसुँ थियो ।

तर ठूलाठूला महलमा बसेर मार्सी चामलको भात खानेलाई गरीबको घरको खानाको स्वाद कस्तो हुन्छ के थाहा ?

जनयुद्ध गरेर दशौ हजारौंको ज्यान जाँदा, सहीद परिवारका घर देखि मन मष्तिस्कमा आगो लाग्यो तर दशौ हजारौं बेरोजगार नेपाली युवालाई रोजगारीको अवसर दिएर उनीहरुको चुलोमा आगो लगाउन कति आनन्दको अनुभुती हुन्छ के थाहा ?

नेपाली संबिधान को भाग ३ मौलिक हक र कर्तब्य उपदफा ३३ “रोजगारी को हक जसमा उल्लेखित प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ र प्रत्येक नागरिकलाई रोजगारी छनोट गर्न पाउने हक हुने छ” उल्लेख गरिएको छ । ४०,००० भन्दा बढी टुटलमा अबद्ध राइडरहरुबाट रोजगारीको हक लिन संविधान विपरित नहोला र ? बन्द गराउने भए ती राइडरहरुको रोज्गारी सुनिश्चित गराउनुहोस् ।

त्यस्तै नेपाली संविधान अन्तर्गत “सामाजिक न्यायको हक” सुनिश्चित गर्न टुटलले जति भूमिका अरुले खेलेको म देख्दिनँ । आज आएर टुटलमा आवद्ध महिला कदममा कदम मिलाएर रोजगारीको लाभ लिदैछन् । कति दिदी बहिनी त राइडर लिनेमा पुरुष भन्दा अगाडि छन, तर दुःखको कुरा फेरी अब उहाँहरुको अत्मसम्मानमा धक्का पुग्ने भयो ।

आज टुटलमा धेरै जसो राइडर दलित र पिछदिएको समुदायका छन, तर एउटा टुटल सेवाग्रहीलाई सोध्नुस कहिले राइडरको थर सोधेर टुटल चढ्नु भएको छ ? उत्तर पाउनु हुनेछ ।

संविधानले अपाङ्गता भएकालाई पहिचान सहित मर्यादा र अत्मसम्मान पूर्वक जीवनयपन गर्न पाउने सुनिस्चित गरेको छ । मलाई चिन्ता लाग्छ के हुन्छ ती हजारौं विभिन्न अपाङ्गता भएका र दृष्टिबिहीन दाजुभाई दिदी बहिनीहरुको, जो टुटलको सेवा लिएर बिना कुनै रोक टोक यात्रा गर्दै हुनुहुन्छ, अब फेरी बस टेम्पो मा धक्का खाने दिन आउन दिन उचित होला त ? आफैँलाई प्रश्न गर्नुहोस् ?

हामी हाम्रो अगाडी भईरहेका गलत कुरालाई वेवास्ता गर्छौ । सायद कयित त यहाँ सम्म पनि पढ्नु भएन होला । तर यो हाम्रो ठूलो हार हो । यो टुटलको बारेमा मात्र होइन । हजारौं सपना बोकेर नेपालमा उद्यम गर्ने सोचको हार हुन्छ । दिन रात मेहेनत गरेर दुई छाक टर्ने आम नेपालीको हार हुन्छ । नेपाललाई समृद्ध र विकसित देश बनाउने सारा देशभक्त नेपालीको हार हुन्छ ।