एशिया इस्टर्न रीजन टी२० क्रिकेट : मलेशियाद्वारा नेपाल पराजित

Newslaya Home

एशिया इस्टर्न रीजन टी२० क्रिकेट : मलेशियाद्वारा नेपाल पराजित

शनिबार १७, फागुन २०७६

बिबिसि । एशिया इस्टर्न रीजन ट्वेन्टी२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा मलेशियाले नेपाललाई २२ रनले पराजित गरेको छ।

जित्नको लागि १५५ रनको लक्ष्य पाएको नेपालले १९।५ ओभरमा सबै विकेट गुमाइ १३२ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीले समान ३८ रन एवम् पवन सर्राफले १९ रन बनाए।

अन्य ब्याट्सम्यानहरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

मलेशियाका लागि सबैभन्दा सफल बलर सर्भिन मुनियान्डी रहे जसले १३ रन खर्चेर ४ विकेट लिए।

यसअघि थाइल्यान्डमा भइरहेको खेलमा मलेशियाले नेपालविरुद्ध २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो।

नेपालका लागि स्पीनर सन्दीप लामिछानेले तीन, अविनाश बोहराले दुई र करण केसीले एक विकेट लिए।

मलेशियाका तर्फबाट सैयद मुबारकले नटआउट ५१, अनवर अरुदीनले ३१, मोहम्मद फैज नूरले ३० रन र अमिनुद्दिन रामलीले २९ रन बनाए।

नेपालले अब आइतबार हङ्‍कङसँग खेल्नेछ।