अब पुर्वाञ्चल विश्वविद्यालयको सबै काम गोठगाउँबाट, मेयर ढकालको प्रसंसा

Newslaya Home

अब पुर्वाञ्चल विश्वविद्यालयको सबै काम गोठगाउँबाट, मेयर ढकालको प्रसंसा

बुधबार १४, फागुन २०७६

इटहरी । पुर्वाञ्चल विश्वविद्यालयको कार्यालय मोरंगको सुन्दरहरैंचास्थित गोठगाउँ सर्ने पक्का भएको छ ।

विश्वविद्यालयको कानुन संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पास भएपछि विश्वविद्यालयको प्रशासनीक काम अब गोठगाउँबाटै हुने पक्कापक्की भएको हो ।

सभामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको शिक्षा सम्बन्धि केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ माथि छलफल गरियोस् भनि प्रस्तुत गरेको विधेयक पारित भएको हो ।

गोठगाउँमा पर्याप्त पुर्वाधार भएर पनि लामो समयदेखि विश्वविद्यालयको प्रशासनीक काम विराटनगरबाट सञ्चालन भइरहेको थियो । गोठगाउँबाटै सबै काम हुनुपर्ने माग गर्दै स्थानीयले आन्दोलन गर्दै आएका थिए ।

गोठगाउँबाटै प्रशासनीक काम सञ्चालन हुने भएपछि स्थानीय खुसी भएका छन् । खुसीयालीमा विश्वविद्यालय परिसरमा बुधबार साँझ दिपावली गरिएको छ । सुन्दरहरैंचाका मेयर शिव ढकाल, उपप्रमुख धना तामाङ, नेकपा सुन्दरहैंचाका अध्यक्ष केदार गुरागाई, कोशीहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज चापागाईंलगायत राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, सर्वसाधारणहरुको सहभागिता थियो ।

विश्वविद्यालयको मुख्य कार्यालय गोठगाउँ सार्न लामो समयदेखि पहल हुँदै आएको थियो । विभिन्न समितिहरु बनेर संघर्ष हुँदै आएपनि विश्वविद्यालयका पदाधिकारीहरुले विराटनगर छाड्न चासो देखाएका थिएनन् ।

पछिल्लो समय सुन्दरहरैंचाका मेयर शिवप्रसाद ढकालले पहल लिएका थिए । उनले विश्वविद्यालयको मुख्य कार्यालय गोठगाउँ नै राख्नुपर्ने माग गर्दै मोरंगका सबै पालिकाहरुको हस्ताक्षरसमेत संकलन गरेका थिए । ‘हामीले गरेको संघर्ष आज सफल भएको छ,’ उनले खुसी हुँदै प्रतिक्रिया दिए, ‘अब ८०५ विगाहाको विशाल क्षेत्रफलबाटै विश्वविद्यालयको काम सञ्चालन हुनेछ ।’

नेकपा सरकारसमेत विश्वविद्यालयलाई गोठगाउँमै केन्द्रित गर्न सकारात्मक बनेको थियो । शिक्षामन्त्री गिरीराजमणि पोख्रेल आफैले पनि यो विषयमा चासो लिएपछि प्रस्ताव संसदसम्म पुगेर पास भएको हो ।

Image may contain: one or more people, fire, candles and night

तस्वीर : शिव भट्टराई भोजपुरे