‘अझै जिन्दगी बाकी छ भन्ने आश लागेको छ’

Newslaya Home

‘अझै जिन्दगी बाकी छ भन्ने आश लागेको छ’

बुधबार १४, फागुन २०७६

यतिवेला म नेपाल निजामति अस्पताल मीनभवनको वेड नम्वर २३८ वाट यो स्टाटस अपडेट गर्दैछु । ‘अव जीन्दगी सकिएछ’ भनेर निरास भइसकेको अवस्थामा तपाइहरुको माया र सद्भावले ‘अझै जीन्दगी वांकी छ कि’ भनेर आशा गर्ने अवस्थामा आएको छु ।

आफ्ना नियमित काममा व्यस्त भइरहेको समयमा अकस्मात व्लड क्यान्सर भएको रिपोर्टले मेरो जीवनमा वज्रपात नै भयो । भर्खर करियर सुरु गर्ने उमेरमा नै क्यान्सर जस्तो भयानक रोग लागेको रिपोर्ट पाउंदा म जति आत्तिए, त्यो भन्दा वढी अव आउने आर्थिक अभावको संकटले अत्यायो । क्यान्सर रोग उपचारका लागि अत्यन्त महंगो हुने रहेछ । अस्पतालले ४० लाख रुपैयाँ भन्दा वढी खर्च लाग्ने पहिलानै जानकारी गराइसककेको थियो । छोराहरु भर्खर कलेज जाने उमेरका भएका छन्, काखे छोरी छे, मेरो आयको भरमा घर धान्दै आएकी पत्नी छिन् । मेरो जीन्दगी रहेन भने परिवारमा के आइलाग्ला भन्ने पीरले मलाइ नराम्ररी गलायो ।

आत्तिरहेको समयमा मेरा पछाडि पनि शुभेच्छुकहरु पनि हुनुहुन्छ भन्ने आभाष भएपछि भने साहस पलाउन थाल्यो । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा), डीसी नेपाल डटकम र इनेप्लिज डटकमले मेरो आर्थिक सहयोगका लागि स्वस्फूर्त रुपमा सहयोगका लागि गोफण्डमा खाता खोलेको र त्यसमा शुभेच्छुकहरुले लगातार सहयोग जम्मा गरेको देख्दा म भावविभोर भए । जतिजति रकम थपिंदै जान्थ्यो, मेरा आंखावाट आंसु वर्सन्थे । मन झन्झन् दह्रो हुंदै गयो । अस्पतालको वेडवाटै मैले लामो समय काम गरेको नेपाल समाचारपत्र दैनिकका साथीहरुले सहयोगका लागि पहल सुरु गरेको, अहिले काम गरिरहेको मकालु टेलिभिजनले तुरुन्तै आर्थिक सहयोग गरेको, र नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेश सक्रिय भएको थाहा पाउंदा मेरो हर्षको सीमा रहेन ।

मेरो उपचारलाई सहज वनाइदिन हरदम प्रयास गर्ने नेपाल समाचारपत्रका सम्पादक कपिल काफ्ले र सोही पत्रिकाका पुर्व सहकर्मी साथीहरू प्रती आभार व्यक्त गर्दछु । अस्पताल वसेपछि मेरो लागि मेरो उपचारमा सहयोग गर्न स्पार्क हेल्थ होम परिवार, नोबेल अस्पताल का संचालक एवम मेरा सहपाठी डा। सुनिल शर्मा लगायत सम्पूर्ण महानुभावहरुले जसरी तत्परता देखाइदिनुभयो, म सदा ऋणी हुनेछु । मैले काम नगरेका समाचारगृहका पत्रकार साथीहरुको पनि साथ र सहयोग पनि उल्लेख्य रुपमा पाएको छु ।

उपचारका लागि अमेरिकामा किशोर सापकोटा र चुडामणि भट्टराई, स्वीडेनमा फोटो पत्रकार सुन्दर श्रेष्ठ, क्यानाडामा अनमोलमणी पौडेल, हंगकंगमा डम्वरकृष्ण श्रेष्ठ, जापानमा ज्वाला संग्रौलाले अभियान जारी राखेको थाहा पाउंदा धेरै खुसी लागेको छ । जीवनमा कहिले पनि भेट समेत नभएकी ज्वालाले जापानमा सहयोग संकलनका लागि अभियान सुरु गर्नुभएछ । मेरो परिवार र आफन्तहरुले पनि सहयोग संकलनलाई निरन्तरता दिइरहनु भएको छ । म सवैको ऋणी भएको छु । सधै अरु पिडामा पर्दा सहयोगी हातहरु जुटाउन लागि पर्ने म अहिले आफै लाचार भएको छु ।

तपाइहरुले दिएको सहयोगको राशी जसरी वढ्दै गएको छ, मेरो आयु पनि त्यसै गरी थपिंदै गएको छ जस्तो महसुस भएको छ । तपाइहरुको सद्भावकै कारण केमोले पनि मलाई गलाउन सकेको छैन । तपाइहरुको आशिर्वादले क्यान्सरलाई जितेर फेरी पत्रकारितामा आउने छु । तपाइहरुलाई धन्यवाद भन्नका लागि फेरि टेलिभिजन स्क्रीनमा देखिनेछु । तपाइहरुको सहयोगलाई थप केही दिन निरन्तरता दिनु हुन हार्दिक अपिल गर्दछु ।

Account number - 034012271Y Ambika paudel
Prime commercial Bank Biratnagar