कार पार्क गर्न सडक ‘रिजर्भ’ प्रवृत्ती र पार्किङ विकल्प

Newslaya Home

कार पार्क गर्न सडक ‘रिजर्भ’ प्रवृत्ती र पार्किङ विकल्प

- हिमाल दाहाल
बुधबार १४, फागुन २०७६

एक पटक इटहरीको धरान रोडमा छेउमा बाइक पार्क गर्न खोज्दै थिएँ । एक जना गार्ड आत्तिदै आए र भने, ‘सर, त्यो ठाउँमा पार्क गर्न गाडी आउँदैछ’ ।

तीन वटा गाडी लहरै राखिएका थिए । चौथो गाडीको लागि ठाउँ खालि थियो र गार्ड त्यहाँ अरु बाइक वा गाडी पार्क नहुन् भनेर निकै चनाखो देखिन्थे । यस्तो लाग्थ्यो, यो बाटो कुनै गाडी मालिकले पैसा तिरेर पार्किङको लागि रिजर्भ गरेको छ ।

मैले यता उता हेरेँ, बाइक राख्ने ठाउँ थिएन । सोधेँ, ‘कहाँ राख्ने त ?’

‘उता पर लानु’ उसले भन्यो । 

सोचेँ, ‘सडक फराकिलो बनाएको त गाडी पार्किङ एरियालाई पिच बनाउन पो रैछ ।’

इटहरीमा पार्किङको समस्या देखिइसकेको छ । भविष्यमा अझै बढ्नेछ । त्यसको लागि घरवालाहरुको कमाउ प्रवृत्ती र हाम्रो अल्छे प्रवृत्ती दुवै कारक छ । अनि जिम्मेवार निकायको अदूरदर्शीता त स्वभाविक भइहाल्यो ।

पार्किङको लागि सबैभन्दा राम्रो उपाय भनेको अण्डरग्राण्ड पार्किङ हो । तर अहिले इटहरीमा अण्डरग्राउण्ड पार्किङ भएका घरहरु निकै कम छन् । नयाँ बनेका घरहरुमा पनि कमैमा यस्तो पार्किङ छन् । अरु त अरु गोरखा डिपार्टमेन्ट स्टोरले होटलका लागि नयाँ बनाएको भवनमै पनि अण्डरग्राउण्ड पार्किङ छैन । एउटा तला आफ्नो भवनमा आउने ग्राहकहरुको साधनको सुरक्षा गर्न अनि शहरलाई सवारीको भीडबाट जोगाउन समर्पण गर्न नसक्ने हाम्रो प्रवृत्ती सुधार्नु आवश्यक छ ।

अर्को भनेको हामी सवारी धनीको प्रवृत्तीको कुरा आउँछ । हामीलाई गाडी त्यहीँ पार्क गर्नुपर्छ, जहाँबाट आफू जाने ठाउँ नजिक होस् । काठमाडौमा गाडी पार्किङ एरिया छुट्याउन थालिएको छ । सवारी पार्क गरेर केही मिनेट हिडेपछि मात्र आफू जाने ठाउँ पुगिन्छ ।

तर हामीमा त्यती धैर्यताको विकास भइसकेको छैन । अथवा बानीको विकास भइसकेको छैन । हुन पनि पार्क गर्न नजिकै कुनै पार्किङ एरिया पनि त छैन ।

इटहरीमा खाली ठाउँहरु प्रशस्तै छन् । जहाँ काठमाडौं झैं सशुल्क पार्किङ एरियाहरु बनाउन सकिन्छ । र अहिले यो आवश्यक पनि बनेको छ ।

हुन त इटहरी उपमहानगरपालिकाले स्मार्ट पार्किङ बनाउने भनेर काम अघि बढेको छ । तर करोडौंको त्यो पार्किङ उपयोगी हुनेमा शंका छ ।

इटहरीको लागि स्मार्ट पार्किङ भनेको मुख हुँदा हुँदै नाकले खाना खानु जस्तै हो । त्यसका दुई कारण छन् । पहिलो, पार्किङ गरिने ठाउँ मानिसलाई अपायक छ, दोस्रो, त्योभन्दा सरल अनि सस्तो र सजिलो पार्किङ उपाय र विकल्पहरु हामीसँग छन् ।

उपमहानगरपालिकाले त्योभन्दा सस्तो पार्किङ योजनाहरु अघि बढाउन सक्ने अवस्था हुँदा हुँदै पनि करोडौंको स्मार्ट पार्किङ बनाउने योजना अघि बढाएको छ । घुम्ती शौचालयमा १० लाख रुपैया खर्चेको उपमहानगरपालिकाले त्यसलाई उपयोग गर्न नसक्दा अहिले कबाडमा परिणत बनेको छ । स्मार्ट पार्किङको हविगत पनि त्योभन्दा राम्रो देखिन्न ।

खाली जग्गा नै कम भएको ठाउँमा स्मार्ट पार्किङ उपयोगि हुन सक्छ । तलामाथि तला सवारी पार्क गर्ने पुर्वाधार आवश्यक पर्न सक्छ । तर इटहरीको व्यस्त चोक वरीपरी पनि प्रशस्तै जग्गा छन् । पाँच वा १० वर्षलाई जग्गा भाडामा लिएर पार्किङको लागि ठेक्का दिने हो भने कम खर्चमा व्यवस्थित पार्किङ हुन सक्छ । करोडौको संरचना बनाइरहनुपर्ने आवश्यकता नै छैन ।

धरानमा पनि खाली जग्गाहरुलाई व्यवस्थित गरेर साँघुरो सडकलाई झन् साँघुरो बनाउने गरी पार्किङ गर्ने प्रवृत्ती हटाउन सकिन्छ ।

त्यसो त निजी क्षेत्रले पनि सशुल्क पार्किङ सेवा सुरु गर्न सक्छ ।

सडक चौडा बनाएर आवागमन सहज हुँदैन बरु सडकलाई व्यवस्थित बनाउनुपर्छ । त्यसको लागि सडक र पार्किङ क्षेत्र छुट्टा छुट्टै ठाउँ हुन् भन्ने बुझाउन आवश्यक छ । अनि हामीले आफ्नो बानी र प्रवृत्ती बदल्न आवश्यक छ ।

केही वर्षअघिसम्म पनि इटहरी चोकैमा गाडीहरु रोकिन्थे र चारै दिशाको लागि यात्रुहरु बोक्थे । बस स्टेशन नजिकै थिए ।

आज चोकमा गाडी कुनै हालतमा रोकिँदैन । रोक्ने बित्तिकै ट्राफिकले जरिवाना तिराउँछ भन्ने डर छ । बस स्टेशन टाढा छ ।

कुनै समय बस स्टेशनहरु टाढा राखेको भन्दै बस व्यवशायी तथा यात्रुहरुले विरोध गरेका थिए । त्यसपछि बस स्टेशनलाई विस्तारै विस्तारै पर पर सार्न थालियो । अहिले त्यो दुरी सामान्य बनेको छ ।

त्यसैले अब बानी पार्नुपर्छ । ‘यो घर वा कार्यालय मेरो हो, त्यसैले यो अगाडीको सडक पनि मेरो हो र यो सडकमा गाडी पार्क गर्ने पहिलो अधिकार मेरो हो’ भन्ने घरबेटी मानसिकता हटाउन आवश्यक छ ।

त्यसको लागि अब चारै दिशामा व्यवस्थित पार्किङ सेवा सुरु गरौं । इटहरी चोकलाई सवारी पार्किङमुक्त क्षेत्र घोषणा गरौं ।

त्यसो गरियो भने पहिलो फाइदा ती घरधनीलाई पनि हुने हो । किनकी उनीहरुले सडक ‘रिजर्भ’ गर्नकै लागि गार्ड राखिरहनुपर्दैन ।